रारा तालमा साइकल मार्ग

रारा । कर्णाली प्रदेश सरकारले देशको सबैभन्दा ठूलो ‘रारा ताल’ आसपास क्षेत्रमा साइकल मार्ग निर्माण गर्ने भएको छ ।

रारा तालमा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै उनीहरूलाई भ्रमणमा सहजता ल्याउन उक्त मार्गको परियोजना ल्याइएको हो । साइकल मार्ग निर्माण भएपछि रारालाई साइकलबाट परिक्रमा गरी पर्यटकले त्यहाँको मनमोहक दृश्यलाई अवलोकन गर्न सकिनेछ ।

रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको लम्बाइ पाँच किलोमिटर र चौडाइ तीन किलोमिटर छ । यही क्षेत्रफललाई परिक्रमा गरी यहाँको प्राकृतिक सौन्दर्य लिन चाहने पर्यटकलाई लक्षित गरिएको उक्त परियोजना सुरु गर्न करिब ३ करोड विनियोजन गरिएको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।

प्रदेशले छिट्टै विस्तृत परियोजना प्रतिवेदन तयार गरी आगामी फागुनभित्र कार्य सुरु गर्ने लक्ष्य राखेको छ । असार मसान्तभित्रमा उक्त परियोजना सम्पन्न गरिनेछ । प्राकृतिक सौन्दर्यलाई यथावत् राखिने उक्त मार्ग तयार गर्ने क्रममा ढुंगाको ग्राभेल गरिनेछ भने निकुञ्जभित्रका वन्यजन्तुको आश्रय स्थल वरिपरि भने पिच गरिने छैन ।

समुद्र सतहदेखि २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराको गहिराइ १ सय ६७ मिटर छ । मुगु सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब तीन घण्टाको पैदलयात्रामा रारा ताल पुग्न सकिन्छ । प्रदेश सरकारले पर्यटन उद्योगमा लगानी वृद्धि गरी रोजगार सिर्जना गर्ने योजना अघि सारेको छ ।

०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गर्ने क्रममा रारा गाउँ र छाप्री गाउँ हटाइएको थियो । निकुञ्जको भित्री क्षेत्रमा परेका ती दुई गाउँका स्थानीयलाई कोहलपुरमा एकीकृत रूपमा बस्ती व्यवस्थापन गरिएको थियो । ०३५ सालदेखि सेनाले निकुञ्जको सुरक्षा दिँदै आएको छ । मुलुकका विभिन्न १२ निकुञ्जमध्ये उक्त निकुञ्ज क्षेत्रफलका हिसाबले सबैभन्दा सानो मानिन्छ । तालभित्रको नीलो र सफा पानीले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित र आकर्षित बनाउँछ ।

मुलुकमा रहेका विभिन्न पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले न्यू आर्ट समिट ट्राभल एन्ड टुर्स प्रालिले स्थानीय तहका सरोकार पक्षसँग समन्वय गरी विभिन्न रचनात्मक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

उक्त संस्थाले स्थानीय मिलीचौरदेखि करिब चार किलोमिटरको दूरी रहेको हुटुसम्मको रारा पदमार्ग सरसफाइ गरी हालै ३२ वटा फोहोर संकलन गर्ने भाँडो (डस्टबिन) उपलब्ध गराएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लास्टिकजन्य फोहोरको मात्रा बढ्दै गएपछि डस्टबिनको व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

प्रालिका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले रारा सम्पदालाई उत्कृष्ट गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्न स्थानीय तहमा उत्पादन भएको फोहोरको व्यवस्थापन चुनौती बन्दै गएकामा चिन्ता व्यक्त गरे । उनले मुलुकको गौरव बोकेको पर्यटकस्थल भएको भए पनि त्यसको संरक्षण तथा प्रचारको अभावमा विकास हुन नसकेको विचार व्यक्त गरे ।

विगतमा सडक सञ्जाल नभएका कारण हवाइ मार्ग भई पर्यटक आउनुपर्ने बाध्यता थियो । केही वर्षयता कालिकोटदेखि मुगुसम्मको सडक जोडिएपछि अहिले पर्यटक पनि बढ्दै गएको निकुञ्जले जनाएको छ । गत वैशाख १ गते कर्णाली प्रदेशले ‘कर्णाली रारा भ्रमण वर्ष’ को अवधारणा ल्याएपछि यहाँ पर्यटकको आकर्षण तथा यसको विकासले तिव्रता पाउन थालेको छ ।

उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही स्थान पुगेर नागरिकलाई सम्बोधन गरेपछि अहिले सात महिनाको अवधिभित्र करिब ५० हजार पर्यटकले भमण गरिसकेका छन् । अघिल्लो वर्ष भने यस अवधिमा करिब ३० हजार पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

प्रतिक्रिया