पञ्जीकरण नगरे, सवारी गुड्न नपाउने

काठमाडौं । यातायात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायातका साधनहरू पुस १ देखि गुड्न नपाउने भएका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन ०४९ मा भएको व्यवस्थाबमोजिम मंसिर मसान्तसम्म दर्ता नभएका सवारी चल्न नपाउने भएका हुन् । उद्योग वा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले ५ भदौ ०७४ सालदेखि सरकारलाई निर्देशन दिएको थियो ।

यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ गते निर्देशिकासमेत जारी गरेको थियो । कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गर्न दिइएको छ । लामो समयमा १ हजार ५ सय कम्पनीका करिब ६ हजार सवारी मात्र दर्ता भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिने विभागले जनाएको छ । यसअघि संघसंस्था ऐनअनुसार सामाजिक संस्थाका रूपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको छ । सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार (सिन्डिकेट) हट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया