झन् हिंसात्मक बन्दै सरकार विरोधी प्रदर्शन

पेरिस । फ्रान्समा राष्ट्रपति इम्यानुअल म्याक्रोको राजीनामा माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये १ हजार ७ सय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरूलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेका मध्ये १ हजार २ सय २० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ । शनिबार भएको प्रदर्शनमा १ लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरूले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी १ सय ३५ जना घाइते समेत भएका छन् ।

गत महिना इन्धनको मूल्य वृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरूले राष्ट्रपतिकै राजीनामा माग्न थालेका छन् ।

प्रहरीले युवाले पहेँलो टिसर्ट लगाएर प्रदर्शन गरेका र जसका कारण असुरक्षा नहोस् भनेर प्रदर्शन स्थलमा ठूलो संख्यामा प्रहरी खटाएको जनाएको छ । प्रदर्शनकारीले सवारी आवागमनमा रोक लगाएका छन् भने उनीहरूले राजमार्गमा नै प्रदर्शन गर्दै सर्वसाधारण मानिसलाई बाटो हिँड्नसमेत दिएका थिएनन् ।

प्रतिक्रिया