एभरेस्ट प्रिमियर लिग भैरहवा र ललितपुरको जित

काठमाडौं । भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले नटआउट शतक प्रहार गरेपछि टिभिएस एभरेस्ट प्रिमियर लिग (इपिएल)को तेस्रो खेलमा भैरहवा ग्ल्याडियटर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको छ । पोखराले प्रस्तुत गरेको २ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भैरहवाले सिंहको शतकमा अन्तिम ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै शानदार विजयी सुरुवात गरेको छ । ईपीएलमा यो कीर्तिमानी जित हो । यो नै प्रतियोगिताको इतिहासमा सर्वा्धिक लक्ष्य प्राप्त भएको हो ।

भैरहवाको जितमा सिंह नायक सावित भए । सिंहले ४७ बलमै शतक पुरा गरेका थिए । उनले ६० बलमा ८ चौका र १० छक्का प्रहार गर्दै १ सय २५ रनमा नट आउट रहेपछि भैरहवाले अन्तिम ओभरमा जित निकालेको हो । उनलाई पुनित मेहेरले १८ रनमा नट आउट रहेर साथ दिए ।

सुरुवाती दुई ओभरमै ओपनर हरि शंकर शाह र प्रदीप ऐरी भैरहवाले गुमाएको थियो । शाहले खाता खोल्न नसक्दा ऐरीले ११ रनमा पेभिलिएन फर्किए । त्यस्तै कप्तान शरद भेषवाकर ६ र रायन टेन डोस्काटे १६ रनमा आउट भएपछि भैरहवाको ब्याटिङ धरमराउने संकेत देखिएको थियो ।

तर, रविन्दर सिंह र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । पाँचौ विकेटका लागि सिंह र आरिफले ८९ रनको साझेदारी गर्दै भैरहवाको इनिङस उकासेका थिए । आरिफले १३ बलमा २ छक्का प्रहार गर्दै २३ रनमा आउट भए । पोखराका लागि शुशन भारी, विक्रम शोब र कोग्लिनले समान दुई विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । ओपनर रिचर्ड लेभी र काइल कोट्जरले पहिलो विकेटको लागी उत्कृष्ट १ सय ४ रनको शतकीय साझेदारी गरेपछि विशाल योगफल बनेको थियो ।

दक्षिण अफ्रिकाका ओपनर समेत रहेका लेभीले आक्रमक ब्याटिङ गरे । २३ बलमा अर्धशतक पुरा गरेका लेभीले ८. २ ओभरमा कृष्ण कार्कीको ओभरमा रायन टेनको हातबाट क्याच आउट हुनु अघि ७९ रन बनाए । उनले ३६ बलमा समान ७ चौका र छक्का गरे । त्यस्तै पोखराका सुनिल धमला र कोट्जरले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे ।

धमला २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा पेभिलिएन फर्किए । धमलालाई पुनित महेराले १५. ४ बलमा रायन टेनको हातबाट क्याच आउट गराएका हुन् । त्यस्तै कोट्जरलाई अभिनास बोहराले १६.१ ओभरमा कृष्ण कार्कीको हातबाट क्याच गराउदै ४७ रनमा आउट गरे । उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

पोखराका अन्य पल कोग्लिन २० , विनोद भण्डारी ६,राजेश पुलामी मगर ३ र सौरभ खनालले ७ रन बनाए । भैरहवाका लागि कृष्ण कार्की,पुनित, अभिनास र रायनले समान एक विकेट लिनबाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसैगरी सोनु तामाङको आक्रामक ब्याटिङ र सन्दीप लामिछानेले घातक बलिङ गरेपछि तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ ।

ललितपुरले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धा्रित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । पहिलो ओभरको पाँचौ बलमै ओपनर दिलीप नाथनाई १ रनमा सन्नी पटेलले बोल्ड गर्दिदै पेभिलिएन फर्काएका थिए । दोस्रो ओभरको दोस्रो बलमै सन्दीप लामिछानेले पल स्टर्लिङलाई ललितनारायण राजवंशीको हातबाट क्याच गराउदै १ रनमा पेभिलिएनको बाटो देखाएपछि चितवन सूरुमै दवावमा परेको थियो ।

चौथो ओभरको पाँचौ बलमा सन्दीपले जोन सिम्पन १३ रन बनाएको अवस्थामा एलपि डब्लुको सिकार पार्दै पेभिलिएन फर्कापछि चितवन संकटमा परेको थियो । चौथो विकेटका लागि दीपेन्द्र सिंह ऐरी र पृथु वास्कोटाले ४४ रनको साझेदारी गर्दै चितवनको रन उकास्ने काम गरे । पृथुलाई ललितले १२.४ ओभरमा सन्दीप जोराको हातबाट क्याच गगराउदै २६ रनमा आउट गरे । पृथुले २९ बलमा बलमा ३ चौका प्रहार गरे ।

पाँचौ विकेटका लागि दिपेन्द्रले भिम सार्कीसँग ३७ रनको साझेदारी गर्दै चितवनलाई जितको आशा देखाएका थिए । तर १६.२ ओभरमा भिमलाई सन्नी पटेलले २१ रनमा एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भिमले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै दिपेन्द्रलाई १७. २ ओभरमा गौरवले बोल्ड आउट गरेपछि ललितपुरको जितउन्मुख बनेको थियो । दिपेन्द्रले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । अन्तिमतिर स्कटले ९ बलमा २ छक्का प्रहार गर्दै १८ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । ललितपुरका लागि सन्दीप लामिछानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्नीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चिदा २ विकेट लिए । ललितपुरका अन्य गौरव।राशिद खान र राजवंशीले समान एक विकेट लिए ।

त्यस अघि किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । सोनु २४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै नट आउट रहे । उनलाई अन्तिमतिर सन्दीप जोरालेले पनि उत्कृष्ट ब्याटिङ गर्दै साथ दिए । उनले मात्र ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा नट आउट रहे ।

त्यसअघि गौरव तोमरले २९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाउँदा जय किशन कोल्सावालाले २० रन जोडे । सन्नी पटेलले १३ बलमा १ छक्कसहित १९ रन जोड्दा कुशल भुर्तेल र कप्तान ज्ञोनेन्द्र मल्लले समान ३ रन बनाए । चितवनका लागि जर्ज स्कटले ३ ओभरमा १ मेडन सहित २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै पाउल स्टर्लिङ,कमलसिंह ऐरी र ललितसिंह भण्डारीले पनि समान एक विकेट लिए ।

प्रतिक्रिया