प्लास्टिक सर्जरीविरुद्ध दक्षिण कोरिया

सोल । लैंगिक समानता र मिटू् जस्ता विश्वव्यापी अभियानपछि दक्षिण कोरियाले पनि पछिल्लो समय देशमा व्याप्त प्लास्टिक सर्जरी र कठोर सौन्दर्य स्तरविरुद्ध ‘इस्केप द कर्सेट’ भन्ने लडाइँ सुरु गरेको छ ।

दक्षिण कोरियाकी किम जी योनलाई उनी सात वर्षकै हुँदा आफूले प्लास्टिक सर्जरी गराउन आवश्यक रहेको थाहा भयो । यसरी आमाबुवाले ‘डबल ज सर्जरी’ नगराएसम्म १३ वर्षकी उनले आफ्ना सबै तस्बिरहरू नष्ट गरेकी हुन् । सो सर्जरीमा चिउँडोदेखि कानसम्मको बंगरा फुटाएर आफूले चाहेअनुसारको आकारमा हड्डी ताछेर पुनः मिलाउनु पर्दछ ।

तर, अहिले भने उनलाई आफू किन महिनाको २ सय डलर खर्च गरी रूपवती बन्नमा समर्पित भएको भन्ने लाग्छ । यही सोचका कारण उनले केही समयअगाडि आफ्नो कपाल छोटो पारिन् र सबै मेकअपका सामानहरू फुटाइन् अनि भाँचिन् । यसरी २२ वर्षीया किम पनि ती दक्षिण कोरियाली महिलाहरूमध्येकी एक हुन् जो देशको कठोर सौन्दर्य स्तरविरुद्ध लडाइँ लडिरहेकी छन् ।

वास्तवमा मिटू अभियानबाट प्रेरित यो ‘इस्केप द कर्सेट’ ले महिलाहरूलाई प्लास्टिक सर्जरी वा मेकअपविना पनि उनीहरू राम्री देखिन सक्छन् भन्दै बनावटी सौन्दर्यको पछि नलाग्न प्रोत्साहित गर्ने गरेको छ । यसरी अहिले यो अभियानले दक्षिण कोरियाको पुरुषप्रधान समाज र क्रूर संस्कृतिलाई ठूलो चुनौती दिइरहेको छ । दक्षिण कोरिया सौन्दर्यलाई विश्वमै सबैभन्दा बढी महत्व दिने देश भएकाले पनि प्लास्टिक सर्जरी र कस्मेटिक्सबारे महिलाहरूको धारणा बदल्न यो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ ।

वास्तवमा महिलाबारे पहिले नै पक्षपात रहँदै आएको दक्षिण कोरियाली समाजलाई सौन्दर्य उद्योगले नै आजको भयानक अवस्थामा पुर्याएको किमको गुनासो छ । यसरी कोरियामा सुन्दरता धेरै ठूलो कुरा मानिने हुनाले पनि यो विश्वकै सबैभन्दा बढी कस्मेटिक सर्जरी हुने देश रहँदै आएको छ भने यो प्रवृत्ति अन्त्य हुने अझै कुनै संकेत देखिएको छैन र यता सौन्दर्य बजारको कमाइ चाहिँ दिन प्रतिदिन बढेको बढ्यै छ ।

गतवर्ष मात्र मास्क लगायतका सौन्दर्य सामग्रीको बिक्रीबाट दक्षिण कोरियाले १३ अर्ब डलरभन्दा बढी कमाइ गरेको बताइएको थियो । पछिल्लो समय यसमा महिला मात्र नभएर पुरुष पनि संलग्न रहेको पाइएको छ । तर पनि सुन्दर रहने दबाब महिलालाई नै बढी हुने गरेको छ । यसमा पनि कोरियाली सेलिब्रेटीलाई प्रमुख उदाहरणका रूपमा लिइने गरिएको छ । त्यसैले, युट्युबमा सेलीब्रेटी मेकअपका ट्युटोरियलहरूले लाखौँ दर्शक पाउने गरेका छन् भने दक्षिण कोरियाका बस, ट्रेन र टिभी जतासुकै मेकअपकै विज्ञापनहरू धेरै देखापर्ने गरेका छन् । तर, अहिले भने महिलाहरू यो ट्रेन्डबाट पछि हटिरहेको पाइएको छ ।

प्रतिक्रिया