कालीगण्डकीको विस्तृत संभाव्यता अध्ययन सुरू

पर्वत । एक हजार मेघावाट विद्युत्, सिँचाइ र जलयातायात समेत सञ्चालन गर्न सकिने जलाशययुक्त कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत संभाव्यता अध्ययन सुरु भएको छ । सरकारले आव ०७५÷७६ को बजेटमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पर्वत, बागलुङ र गुल्मी जिल्लामा निर्माण हुने परियोजनाको विस्तृत सर्वेक्षणका लागि पहिलो चरणको काम सुरु गरेको हो । सर्वेक्षणका लागि विद्युत् विकास विभागको एक टोलीले एक साता अघिदेखि भौगोलिक अवस्था, विद्युत्गृह, बाँध निर्माण गर्न सकिने संभाव्यस्थलहरूको स्थलगत निरीक्षण र अवलोकन गरेका छन् ।

इन्जिनियर रबि नेपाल सहितको टोली संभाव्य निर्माणस्थल र भौगर्भिक अवस्थाको बारेमा जानकारी लिइरहेको छ । परियोजनाको संभाव्य बाँधस्थल पर्वतको बिहादी गाउँपालिका–१ र २ को बीचमा पर्ने खबराभिरदेखि बाँध निर्माण गर्न सकिने बिहादी गाउँपालिका–६ सेतीवेणी सम्मको अध्ययन गर्ने कार्यक्रम रहेको अवलोकन टोलीले जानकारी दिएको छ । अहिले भौगोलिक र अन्य अवस्थाका बारेमा अध्ययन गरिरहेको टोलीले जनाएको छ ।

कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट कालीगण्डकीको तटीय क्षेत्रको विकास हुने भएकाले परियोजना अघि बढाउन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पर्वत र बागलुङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसददेखि तटीय क्षेत्रका ६ वटा स्थानीय सरकारले लबिङ गर्दै आएका छन् । प्रदेश–४ र ५ कै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको रूपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको विस्तृत संभाव्यता अध्ययन गर्दै परियोजना अघि बढाउन राष्ट्रिय र स्थानीयस्तरमा तीव्र लबिङ भइरहेको छ ।

प्रतिक्रिया