लागुऔषध तस्करी खतरनाक बन्दैः कक्षपति

बाँके । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले लागुऔषध तस्कर खतरनाक भएको बताउँदै लागुऔषध तस्करले समाजको हत्या गर्ने भएकोले जुनसुकै हालतमा पनि यसको नियन्त्रण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन् ।

मानवअधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र, हुरीपपको आयोजना र खजुरा गाँउपालिकाको सहयोगमा युवा वर्गलाई लागुऔषध दुव्र्यसनीसम्बन्धी जनचेतना कार्यक्रममा बोल्दै अध्यक्ष कक्षपतिले सो कुरा बताएका हुन् ।

गाउँपालिका अध्यक्ष कक्षपतिले लागुऔषध नियन्त्रण गर्नका लागि गाउँपालिकाले सामाजिक संस्थाहरूसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् । यस्तै कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले खुल्ला सिमानाको फाइदा उठाउँदै लागुऔषध तस्करहरूले यस क्षेत्रका युवाहरूलाई विभिन्न प्रकारको कुलतमा फसाएको बताउँदै लागुऔषधमुक्त खजुरा गाउँपालिका बनाउन प्रहरीले नागरिकसँग हातेमालो गरेर काम गरिरहेको बताए ।

उनले सामुदायिक प्रहरी साझेदारी अभियान सुरु भइसकेकोले अब स्थानीय स्तरमा देखापरेका समस्या समाधान गर्न जिल्ला प्रहरी कार्यालय धाउनु नपर्ने स्थानीय स्तरमा नै सहज रूपमा समाधान गर्न सक्ने बताए ।

हुरीपपका अध्यक्ष एवं थर्ड एलायन्सका प्रमुख आलम खानले सबैलाई स्वागत गर्दै युवा पुस्ता लागुऔषधको दुरुपयोग र लागुपदार्थको दुव्र्यसनमा फस्ने क्रम बढदै गएको हुँदा त्यसलाई रोक्न शैक्षिक प्रतिष्ठानहरूसमेत अखडा बन्न सक्ने सम्भावनालाई अन्त्य गर्नका लागि हुरीपपले जिल्लामा लागुऔषधबिरुद्ध सचेतनामूलक काम सुरु गरेको बताए ।

उनले मानवअधिकार उल्लघनका घटनाहरूको दस्ताबेजीकरण गरी पीडितलाई न्याय दिलाउनका लागि कानुनी रूपमा सहयता प्रदान गर्ने बताए ।

हुरीपपका उपाध्यक्ष शक्तिकुमार वंशकारले लागुऔषध तस्करीको अवस्था नेपालमा अहिले भयावह रूपले वृद्धि भएकोले तस्करी रोक्न प्रहरी मात्र नभएर जनतालाई पनि सक्रिय भएर लाग्नुपर्ने बताए ।

उनले लागुऔषधको अबैध दुव्र्यसन र तस्करको समस्या विश्वकै लागि चुनौतीपूर्ण भएको बताए । वंशकारले लागुऔषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा नै जटिल समस्या उत्पन्न भएको बताए ।

सामुदायिक सेवा केन्द्र बाँकेका उपाध्यक्ष दीपेन्द्रकुमार जेशीले नशा सेवन गरेर नानाखालका समस्या निम्त्याउनु भन्दा कहिले सेवन नगर्न सुझाव दिए । उनले यसबारे सत्यतथ्य आफूले जानेर बुझेर र अरूलाई बुझाएर यसको प्रयोगलाई निरुत्साहित गर्नु जरुरी रहेको बताए ।

हुरीपपका उपाध्यक्ष एवं नेपाल इक्रा एजुकेनसनल फाउन्डेसनका अध्यक्ष शक्तिकुमार वंशकारको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष किस्मतकुमार कक्षपति, प्रहरी उपरीक्षक अरुण पौडेल, वडा नं.७ का अध्यक्ष अतिउल्लह खान, हुरीपपका सदस्य रश्मी खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया