बेथिती अन्त्य गर्न ध्यानाकर्षण

ताप्लेजुङ । ताप्लेजुङमा शिक्षा, स्वास्थ्य, यातायातजस्ता सार्वजनिक सेवाका क्षेत्रमा विभिन्न विकृति रहेको बढ्दै गएको छ । सामुदायिक विद्यालयहरूमा नियमित पढाइ नहुने, शिक्षकहरू बढी अनुपस्थित हुने, यातायात व्यावसायीहरूले मनपरी भाडा असुल गर्नेजस्ता समस्या बढेको सत्तारूढ पूर्वमाओवादी निकट विद्यार्थी र युवा संगठनले बताएका छन् ।

अखिल क्रन्तिकारी र वाइसिएल नेपाल ताप्लेजुङले यस विषयमा आइतबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएको छ । ६ बुँदे ध्यानाकर्षण पत्रमा सदरमुकाम फुङलिङबाट छुट्ने गाडीहरूले यात्रुबाट लिने गरेको भाडालाई अनुगमन गरी वैज्ञानिक भाडादर कायम गर्न माग गरिएको छ ।

त्यस्तै संविधानमै माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क हुने व्यवस्था भए पनि विद्यालयहरूले विभिन्न बाहानामा शुल्क लिइरहेको समेत बताइएको छ । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किरण लिङ्देनले विद्यालयहरूले परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्क, मार्कसिट शुल्कजस्ता उपशीर्षकमा रकम असुल्ने गरेको बताए ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किरण लिङ्देन र वाइसिएल नेपालका जिल्ला अध्यक्ष सुजन लिम्बूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वसहित नयाँ संविधानको मर्म विपरीत विभिन्न क्रियाकलाप भइरहेकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

ध्यानाकर्षण पत्रमा सदरमुकाम फुङ्लिङबाट विभिन्न स्थानमा छुट्ने यातायातका साधनमा व्यवसायीले मनोमानी भाडा असुल्दै आएकाले यसलाई नियन्त्रण गरी वैज्ञानिक भाडादर कायम गर्न माग गरिएको छ ।

यस्तै माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क र सुलभ शिक्षा हुनुपर्ने संवैधानिक व्यवस्था विपरीत विभिन्न शीर्षक तथा उपशीर्षकमा विद्यालयहरूले शुल्क लिँदै आएको हुँदा तत्काल नियन्त्रण गर्नमा माग गरिएको छ भने सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई असल शासनको अनुभूति दिलाउन मुस्कानसहितको सेवालाई व्यवहारमा कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ ।

गणतान्त्रिक संविधान र संघीयताको कार्यान्वयनमा सेवाग्राहीले सरल तथा सहज अनुभूत गराउने खालको कार्यशैली साथै प्रणालीका लागि मातहतका कर्मचारीलाई अभिमुखीकरण गराउन र भ्रष्ट, कामचोर तथा माफिया शिक्षकमाथि छानबिन गरी कानुनी कारबाही गर्न पनि प्रजिअसमक्ष ध्यानाकर्षण गराइएको छ ।

विद्यार्थी र वाईसीएलका जिल्ला नेतृत्वसहितको टोलीले प्रजिअलाई ध्यानाकर्षणपत्र बुझाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किरण लिङ्देनले जानकारी दिए । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले आफ्नो क्षेत्राधिकारभित्र रहेका विषयहरूलाई निरीक्षण तथा अनुगमन गरी सुधार गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया