खोजखबर

भ्रष्टाचारविरुद्ध एक होऔँः प्रधानमन्त्री

सौर्य अनलाइन २०७५ मंसिर २४ गते ६:३५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढंगले अघि बढ्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे । ‘अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।’

समृद्ध, सम्भ्रान्त र सुसंगत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘संयुक्त राष्ट्रसंघले समृद्ध, शान्त, खुशी मानव समाज निर्माणमा बाधा पुर्याइरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमै अघि बढाएको साझा प्रयासलाई नेपालले सहयोग र समर्थन गर्दै आएको छ ।’

आत्मअनुशासित, कानूनको परिपालना गर्ने मानव जाति आफू नैतिक एवं इमान्दारको स्वबन्धनमा नबाँधिएसम्म भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ हुने बताए । प्रधानमन्त्री ओलीले भने, ‘यहाँ भएका सबैले भ्रष्टाचार नगर्ने हो भने आधा जति भ्रष्टाचार रोकिएला नेपालमा ? सुन्दा अप्रिय लागे पनि कि भ्रष्टाचार गर्दै नगरौँ, कि गर्ने भए साँचो कुरा गरौँ ।’

प्रधानमन्त्री ओलीले कार्यक्रममा उपस्थित भएकालाई सम्वोधन गर्दै भने, यहाँ उपस्थित भएकामध्ये कोही पनि भ्रष्टाचारमा पर्ने ढङ्गबाट काम नगर्नुस् । उनले नातावाद, कृपावाद, आफन्तवाद, दल र समुदाय नभनी स्वच्छ, पारदर्शी र कानूनी राज्यको पक्षमा दृढताका साथ काम गर्न सबै राष्ट्रसेवकलाई निर्देशन दिए ।

भ्रष्टाचार नियन्त्रणका लागि हामीसँग राज्य संयन्त्र, कानून र निकाय क्रियाशील रहे पनि भ्रष्टाचार व्याप्त रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘रोक्नका लागि जिम्मेवारीमा रहेका संस्था र प्रमुख स्वच्छ हुनुपर्दछ, म आफू पनि भ्रष्टाचार गर्दिन अरूलाई पनि गर्न दिन्न भनेकामा पहिलो सर्त पूरा गरेको छु, दोस्रो सर्त पूरा गर्ने प्रयासरत छु ।’

विगतमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले भन्दा फरक मनसायले व्यक्ति विशेषलाई दुःख दिने काम भएको बताउँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अख्तियार दुरूपयोग अनुसन्धान आयोगको भ्रष्टाचारविरुद्धको प्रयास सकारात्मक ढङ्गबाट अघि बढिरहेको उल्लेख गरे । खनिजलगायत प्राकृतिक साधनस्रोत प्रशस्त भएका हाम्रा निम्ति विकास र समृद्धिका लागि अहिले अन्त्यन्तै अनुकूल वातावरण रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘आफू मातहतका निकायका मान्छेका आँखामा गिर्ने काम नगर्नुस ।’

आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मुलुकमा सुशासनका लागि चुनौतीका रूपमा रहेको भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तर्फबाट सार्थक प्रयासको खाँचो आैँल्याए । मुख्य सचिव लोकदर्शन रेग्मीले मानव जीवन र जगत्लाई विकृत बनाउने भ्रष्टाचारलाई नियन्त्रण गर्न नसकिएमा समाजमा विवेक र न्याय हराउने पक्षलाई हेक्का राखेर काम गर्न निजामती कर्मचारीलाई निर्देशन दिए ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विश्वमा नै महारोगका रूपमा परिचित भ्रष्टाचारले मानिसलाई नकारात्मक क्रियाकलाप गर्न उद्यत गरेकामा त्यसलाई नियन्त्रण गर्न सरोकारवाला निकाय एकताबद्ध हुन जरुरी रहेको बताए । आयोगका सचिव महेश्वर न्यौपानेले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको महत्व र आयोगका तर्फबाट भ्रष्टाचार न्यूनीकरणका लागि भइरहेको प्रयासबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया