अमेरिकासँगको व्यापार नाफा उच्च : चीन

एजेन्सी, बेइजिङ । व्यापारिक तनावका बीच नोभेम्बरमा चीनको अमेरिकासँगको ब्यापार नाफा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्यांकअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

‘यो बर्षको नोभेम्बरमा चिनियाँ समानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,’ तथ्यांकमा भनिएको छ । अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै बर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो ।

चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भएपनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दावी छ । सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो बर्षको सोही अवधिमा व्यापार नाफा दुई खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दावी गरेका छन् ।

प्रतिक्रिया