त्यो दिन मात्र यो देश समृद्ध भएको मान्नेछु

हे ! सरकार
न त म तेरो
समृद्धि अभियानको विरोधी हुँ
न त
यो देशमा
सबैलाई चाहिएको
समृद्धि नचाहिने मान्छे
तर,
मात्र यति भन्न चाहन्छु
तेरो समृद्धि
अहिले
सपनामा मात्र सीमित छ,
नारामा मात्र सीमित छ ,
पोस्टर, पम्प्लेट
अनि
होडिङबोर्डमा मात्र सीमित छ
हे ! सरकार
तँ जेसुकै भन्

तेरो समृद्धिलाई
समृद्ध भन्न सक्तिन
म कदापि भन्न सक्तिन
मलाई माफ गर
किनकी
यो देशमा
समृद्धि ल्याउन
ठूलठूला पानीजहाज र
रेलले मात्र सक्दैन ।

हे ! सरकार,
जुन दिन
आरएनएसीको अगाडि
गाडी चढ्न मानिसहरू
ठेलमठेल गर्दै कुदेको देखिन्न
हो !
त्यो दिन मात्र
यो देश समृद्ध भएको मान्नेछु,

जुन दिन
लाइसेन्स नवीकरण गर्न जाँदा
यातायात कार्यालयले
आधा घन्टामा
नवीकरण गरेर कार्ड दिएर पठाउँछ
हो !
त्यो दिन मात्र
यो देश समृद्ध भएको मान्नेछु,

जुन दिन
अस्पतालको बिल तिर्न नसकेर
एउटा बिरामीले अस्पतालको छतमा
झुण्डेर मर्न छाड्नेछन्
हो !
त्यो दिन मात्र
यो देश समृद्ध भएको मान्नेछु,

जुन दिन
एउटी चेली मध्यरातमा
स्वतन्त्र हिँडडुल गर्न सक्छिन्
हो !
त्यो दिन मात्र
यो देश समृद्ध भएको मान्नेछु

जुन दिन
एउटी विधवाले
बोक्सीको आरोप खेप्नुपर्ने छैन
हो !
त्यो दिन मात्र
यो देश समृद्ध भएको मान्नेछु

जुन दिन
एउटी आमाले
आफ्नो सन्तानको काखमा
अन्तिम सास लिन पाउनेछिन्
हो !
त्यो दिन मात्र
यो देश समृद्ध भएको मान्नेछु

जुन दिन
एउटी चेलीले
कलेज फि
तिर्नका लागि रत्नपार्कको
आकाशेपुलमाथि उभिनुपर्ने छैन
जुन दिन
एउटा बाबुले आफ्नो छोराको
लासको बाकस बुझ्नुपर्ने छैन
जुन दिन
मेरी भाउजुले दाजुसँग
रमाउन चालिस कुर्नुपर्ने छैन
जुन दिन
एउटा दलितले पनि
अरूसरह मन्दिर प्रवेश पाउनेछन्
जुन दिन
मजदुरवर्गको अनुहारमा
खुसीका किरणहरू देखिनेछन्
हो !
त्यो दिन
यो देश समृद्ध भएको मान्नेछु

जुन दिन
किसान र हलियाहरू
आफ्नै जमिनमा खेती गर्न पाउछन्
हो !
त्यहि दिन यो देश समृद्ध भएको मान्नेछु

हे ! सरकार
म तेरो समृद्धि
अभियानको विरोधी हुँदै होइन
कदापी हुँदै होइन ।

एकचोटी
कुर्सीमोह त्यागेर
आमाको मुहार हेर,
ती परेलीका डिलबाट
करोडौं
सगरमाथा पग्लिएर बगिरहेछन् ।

प्रतिक्रिया