दंशभित्र समाजको हंश हल्लाउने यथार्थता

नेपाली साहित्यमा कथाको आफ्नै पहिचान छ । तर, अचेल यो विधाको बजार खस्केको भन्ने चर्चा पनि सुन्न पाइन्छ । तर, अब कथा पनि अरू विधासरह नै जम्ने संकेत देखापरेको छ । एक दशक लामो समय कथा विधामा कलम चलाउँदै आएका कथाकार दिनमान गुर्मछानद्वारा लिखित कथा संग्रह ‘दंश’ ले त्यो संकेतलाई उजागर गरिदिएको छ ।

जसले यस देशको समस्यासँगै समाधानको पाटोसमेत औँल्याएको पाइन्छ । राष्ट्रियता, व्यक्तिवाद, पहँुच, सभ्यता, गरिबी, बेरोजगारी यावत् नामका राजनीति, मनोविज्ञान, सामाजिक र यथार्थता भोग्दै आएका कहालीलाग्दा सन्नाटाको समयलाई आफ्नो मूल मसला बनाएर पात्रहरूमार्फत मनमा दंश गराउँदै समाजको हंश नै हल्लाउन खोजिएको छ । प्रस्तुतः कथाकृतिलाई यसरी चिरफार गरेको विश्लेषण गर्दा सापेक्षित हुन्छ ।

‘अनुहार’ शीर्षकको कथामा हामी आफ्नो अनुहार अरूभन्दा निकै राम्रो छ, म जतिको मान्छेले नै समाजको परिचय हो भन्ने ठान्छौँ । त्यही भ्रम चिर्न कृतिमा प्रथम कथाको रूपमा समावेश छ, अनुहार । हामी कुनै न कुनै वेला चुकेका हुन्छौँ । त्यही कुरा जीवनमा फर्केर आउँदा आश्चर्य मान्छौँ ।

अनुहार कथाभित्रका पात्रले देखाएको व्यवहार र द्वन्द्वको समयमा ती प्रहरी अधिकारीले एक युवतीको घरमा एकरात बस्दाको घटनाले युवतीको जीवनमा कति धेरै दंश मच्चाएको छ । अझै कथाकी पात्रले सकुशल आफ्नो पेटको बच्चालाई जन्म दिई बाबुको जिम्मा लगाइदिनु असल चरित्रको नमुनाको रूपमा ती युवतीलाई उभ्याइएको छ । कथा पढिरहँदा यस्तो लाग्छ कि मानौँ हाम्रो यो पुरुष प्रधानले गाँजेको समाजमा पुरुषले नारीमाथि जस्तोसुकै हर्कत गरे पनि सहजै पन्छिन सक्छन्, नारी यतिसम्म विवश दुनियाँमा छन् भन्ने कुराको यथार्थता प्रष्ट्याउन अनुहार कथा सफल भएको छ ।

‘घुर’ कथामा हरेक साल आइरहने, लुकाउन नसक्ने वास्तविकताको कथा हो । अभाव, अशिक्षा, अन्धविश्वास, बेरोजगारी र गरिबीको सकसलाई कथाको मूल अंश बनाइएको छ । कथाकार गुर्मछानको दंश कृतिको दोस्रो दमदार कथाको रूपमा आएको छ । यस कथाभित्र अभावमा झेलिएका पात्र भगिराम मुसहरको पुस महिनाको एकरातको घटनालाई विशेष प्राथामिकता दिइएको छ । जहाँ एकरातका लागि आफ्नो बस्ने छानो मासिन पुग्छ । मानो र नानोको कुरा त झनै दर्दनाक रूपमा चित्रण गरिएको छ । मुसहर समुदायलाई मात्र नभई अभावमा झेलिएर जीवनका पल गन्दै बाँचिरहेका त्यस्ता पात्रहरू यहाँ खोजी गर्ने हो भने हामी पाइलैपिच्छे भेट्न सक्छौँ । भगिरामले तिनीहरूको प्रतिनिधित्व गरेका छन् ।

त्यस्तै, ‘महामारी’ कथाले वर्तमान राजनीतिक धरातल र विकट गाउँको अवस्थाबीच चलिरहेको आशाबीचको दौडलाई देखाएको छ । निरुत्तरित प्रश्नको तिखो प्रहार जनताले जिताएर पठाएका नेताप्रति लक्षित गरिएको छ । एउटा विश्वाससँग उब्जेको भरोसा कसरी मरेर जान्छ भन्ने मूल विषयवस्तुलाई अघि सारिएको छ ।

राजनीति गरी जनताको सेवा गर्न निस्केको एउटा नेता आफ्नो लक्ष्यलाई विचलन गराएर यशको दैनिकीमा कसरी भासिएको छ भन्ने कुरा कथा पढिसकेपछि सोच्न सकिन्छ । पात्रले उठान खोजेको खानेपानीको समस्यालाई निराकरण गर्ने हेतुले सहरसम्म आएर ती नेताको आश्वासन र भरोसामा हरेक वर्षको महामारी अन्त्य गर्ने सपना बोकेर हिँडेका ती पात्र निराशामा घर फर्किंदा गाउँमा फेरि झाडापखाला फैलिएको समाचार सुनिन्छ । यस कथाले खोलो तर्ने लौरो बिर्सने प्रवृत्ति हाबी हुँदै गएको संकेत गर्छ ।

संग्रहभित्र रहेको ‘नागरिकता’ कथामा हामी आफ्नो निरन्तर काममा अडिग र इमानदार भए पनि अरूले गरेको गल्तीको भागिदार बनाउन प्रहरी प्रशासनपछि पर्दैन भन्ने भावलाई उठान खोजेको छ । नाम मिलेकै भरमा सजायको भागिदार हुन पुगेका पात्र जुगल केवटले आफूलाई निर्दाेष सावित गर्दासम्म उसलाई ऋणको भारीले थिचिसकेको हुन्छ । अर्काको घरमा काम गरी मिहिनेत मजदुरी गरेर खाने गरिबको नाम कुनै अपराधीसँग मिल्यो भने राज्यको संयन्त्रले केही हेर्दैन सिधैँ दोषी करार दिएर कारावासमा जाक्छ भन्ने आशय यस कथाको रहेको छ । महोत्तरी जिल्लामा भएको यो सत्य घटनालाई कथाकारले कथाको रूप दिएका हुन् ।

विश्वासमा अडेको संसारमा प्रेम के हो ? यहाँ प्रेम हराएको वेला बलिहाङको प्रेमकथाले सच्चा प्रेम गर्ने विश्वासमा बाँचिरहन्छ र प्रेम जिउँदो छ भनेर प्रेमको परिचय प्रष्ट्याउन सफल भएको छ । चाहे कर्तव्यबाट जति नै विमुख हुन किन नपरोस् प्रेमले संसार चलेको हुन्छ र त्यही प्रेमका लागि बाच्नुपर्छ

त्यसैगरी, ‘योद्धासँगको केही पल’ शीर्षकको कथाले जनयुद्ध ताकाका आमनेपाली कसरी योद्धा भए, उनीहरूको ईच्छा, चाहनालाई कसरी लात हानेर भविष्य अन्योल बनाइएको थियो भन्ने विषयलाई खोतलेको छ । कथाले त्याग र समर्पणलाई कसरी उपयोग गरियो भन्ने विषयलाई उठान गरेको छ । युद्धकै क्रममा अंगभंग भएका योद्धा परिश्रम गरेर जीविकोपार्जन गर्न गर्व ठान्छन् भन्ने अर्को सन्देश पनि यस कथाले दिइएको छ ।

‘चियाको बाफ’ कथामा एउटा सपना जसले सिंगो संसारको आधा धरातल नै गायब भएको परिकल्पना कथामा देखाइएको छ । वास्तवमा जुनै चिज पनि आफूसँग हुँदा महत्वहिनझैँ लाग्ने आफूसँग नभए त्यसको महत्व चुलिने मानवजातिको विशेषतालाई लिएर संसारमा महिला नभए सबैतिर हाहाकार, विलाप, कोलाहल, उथलपुथल भएको कुरालाई पात्रले देखेको सपनाबाट उतारिएको छ । निकै नै विवेकपूर्ण तरिकाले कथाको परिकल्पना भएको छ । जबकि, हामी सबैले एक अर्काको महत्वलाई बुझ्न सक्दैनौँ भने । त्यो परिस्थितिको सामना गर्न के हामी तयार छौँ ? यो यक्ष प्रश्न तपाईं हामीमाझ नै कथाले छोडेर गएको छ ।

‘बलिहाङको प्रेम’ शीर्षकको कथाले प्रेममा अडेको विश्वासलाई कलात्मक रूपमा देखाएको छ । विश्वासमा अडेको संसारमा प्रेम के हो ? यहाँ प्रेम हराएको वेला बलिहाङको प्रेमकथाले सच्चा प्रेम गर्ने विश्वासमा बाँचिरहन्छ र प्रेम जिउँदो छ भनेर प्रेमको परिचय प्रष्ट्याउन सफल भएको छ । चाहे कर्तव्यबाट जति नै विमुख हुन किन नपरोस् प्रेमले संसार चलेको हुन्छ र त्यही प्रेमका लागि बाच्नुपर्छ । जीवनको अन्तिम घडीसम्म पनि प्रेम बुढो नहुने कुरा, नमर्ने, ननासिने र नडराउने कुरा बलिहाङको प्रेमले तथ्यसहित प्रमाणित गर्न खोजेको छ । यसर्थमा पनि अजर प्रेम यहीँ कतै हुने गरेको छ भन्ने सन्देश बलिहाङको कथा पढ्दा बुझिन्छ ।

संग्रहको शीर्ष कथाको रूपमा रहेको ‘दंश’ मा द्वेषपूर्ण प्रश्नको उत्तर खोजिएको छ । सामान्य कुरामा ख्याल नगर्दा देखा पर्ने खतरनाक अवस्थाहरूबारे कथामा विशेषपात्र बखतबहादुरको भूमिकालाई उभ्याइएको छ । देशका लागि सुरक्षा गर्छु भनेर कसम खाएको एउटा सिपाही जसले आफ्नै अंग जोगाउन सक्दैन भने यिनले के देशको सुरक्षा गर्लान् भनेर विश्वास गर्ने ? अझै दिनहुँ भइरहने बलात्कारका घटनाको यो एउटा उदाहरण मात्र हो । कथा पढिरहँदा दोमनका भाषाले मनमा दंश मच्चाउँदै सुरक्षाको सवालबारे देशको हालतबारे सोच्न बाध्य गराएको छ । जटिल विषय वस्तुलाई कथाले सहजै पार लगाएको छ जहाँ प्रश्नका उत्तरहरू आफैँ छरपस्ट भेटिन पुग्छन् ।

‘प्रेमको धरहरा’ कथाले प्रेमको धरहरा कथा धरहरा चढेको समयमा आएको भूकम्पमा टुटेको प्रेमको कथा हो । प्रेमिकाको मृत्युपछि पनि प्रेमीले धरहरासँगको पुरानो यादहरू सम्झिदिन्छ । प्रेमको धरहरा पढिरहँदा आँखैमाझ आउने दृश्यले भूकम्पको त्यो कोलाहल सम्झाइदिन्छ । लाग्छ, काठमाडौंको धरहराले धेरैको प्रेम त्यसरी नै टुटाएको छ ।

‘त्यो रात’ कथामा नसाको धङधङीमा आउने दृश्यलाई कथाले मूल विषय बनाएको छ । मदिराले देखाउने दृश्य कतिसम्म शंकालु हुन्छ भन्ने कुरा पात्रद्वारा विम्बित गरिएको छ ।

‘पुरुष’ ले समाजमा व्याप्त बेरोजगारी र उन्मादमा रहेका धनाढ्य महिलाको कथालाई निकै चलाखीपूर्ण ढंगले उठान गरेको छ । वर्गका नाममा राजनीति गर्ने जमातका लागि यो गतिलो प्रहार हो भने पुरुषत्वको समाजमा नारी पनि केहीमा कम रहेनछन् र पुरुष हर कुरामा दोषी देख्ने ती नारीका नजर केन्द्रित गर्न केही नारी चरित्रको वास्तविक यथार्थतालाई कथाले बोकेको छ ।

‘पराजित’ शीर्षकको कथा मनोविज्ञानमा आधारित छ । विशेषगरी आत्महत्यामाथि केन्द्रित रही लेखिएको दरिलो कथाको रूपमा यसलाई लिन सकिन्छ । आफ्नै हठीको भरमा विपत निम्ताउने वा आफ्नै जिन्दगीबाट विरक्त भई जीवन सिध्याउन खोज्नेमाथि ठाडो प्रहार गरी जीवन बाँच्नु पो पर्छ भन्ने कथाले सन्देश प्रदान गर्न सफल भएको छ । हरेकले आफ्नो पाइला पाइलामा जित खोज्छ । तर, पराजितले पनि जीवनमा नयाँ रंगहरू ल्याउँछ भन्ने कुरालाई कथाले प्रस्तुत गरेको छ । कथा पढ्दा लाग्छ कतै त्यो पात्र म आफैँ त होइन ?

‘पलिना, इन्द्रावती र बगरको यात्रा’ यो कथा विवाहित पुरुषसँग अविवाहित युवतीको प्रेमलाई विशेष जोड दिएको छ । ग्रामीण भेगमा समाजसेवामा तल्लीन भएका केही परोपकारी मनलाई कथाले प्रतिनिधित्व गरेको छ । कथाले विवाहित र अविवाहितबीचको चोखोप्रेमलाई आदर्श बनाउन खोजेको छ । दुई शरीरको मिलन मात्रै प्रेमको परिभाषा ठान्ने जमातका लागि गतिलै झापड हो ।

संक्रमण
वैदेशिक रोजगारीमा गएर ठूलो सपना सजाएर भासिएकाहरूको वास्तविक कथालाई मूल विषयको रूपमा उठान गरिएको यस कथाभित्र सम्पत्ति, परिवार र शरीर भन्ने कुरा के रहेछ भन्ने कुरालाई उधिनिएको छ । वास्तविक धरातलका पात्र कमल एउटा यो मुलुकको प्रतिनिधिमूलक पात्र हो । दैनिक सयौँ घरपरिवारको विचलित जीवन, आशा, भरोसा र विश्वास कसरी मरेर गएका छन् ।

पति वा पत्नी परदेशमा कमाउन जाँदा यता अर्काेसँग लाग्ने, कमाएको पैसा उडाउने र आफ्नो जीवन नै नरहने वा रोगको भारी बोकेर आउनुपरेको दुर्दशालाई कथाले उठान गरेको छ । अझै जीवन पैसा मात्रै हो भन्नेका लागि यो अर्काे गतिलो प्रहार हो ।

‘छाडेको फूल’ एउटा सामान्य परिवारकी चेली र युवकको सहरमा चल्ने दैनिकीलाई कथाले उठान गरेको छ । एकतर्फी प्रेमलाई कथाले अर्काे पाटोमा राखेर हेरेको छ । ‘वेब तृष्णा’ कथामा सामाजिक सञ्जालले ल्याएको विडम्बनाको जालोलाई मूल विषय बनाइएको छ । एउटा नेपाली भनाइ बुझ्नेलाई ‘खुर्पाको बिँड…’ भनेझैँ जसलाई जसरी बुझ्नुपर्ने हो त्यसको प्रयोगभन्दा दुरुपयोग बढ्दै गएको तथ्यलाई केलाइएको छ । सामाजिक सञ्जालभित्रको जञ्जालले बढिरहेको अपराधको उन्मादले प्रविधिलाई अभिसाप सावित गर्ने हो कि भन्ने खतराको संकेत कथाले गरेको छ ।

‘नीलो गुलाफ’ कथामा अपराध दुनियाँभित्रको एउटा रोमाञ्चक परिदृश्यलाई देखाइएको छ । जबकि, नीलो गुलाफ चोरेर आफ्नो प्रेमिकालाई दिने एउटा पात्रको सपना सीमित त बनेको छ, नै । अर्काे अनौठो लाग्ने कुरा यो हो कि अपराध आफैँ गर्नु र संलग्नताको खोजी गर्न पनि आफ्नै नेतृत्व हुनुभित्र कथाले धेरैथरी प्रश्न उठान गरेको छ ।

‘मधेसको गर्मी’ कथामा संवेदनशील विषय रहेको मधेस आन्दोलन र तत्कालीन राजनीतिक अवस्थालाई कथाले उठाएको छ । तराई आन्दोलनको दबदबा सुन्दा मात्रै शरीरको हंश उड्थ्यो । त्यो समयमा मधेसमा बस्ने दाजुभाइको बाँच्न पाउने नैसर्गिक अधिकारसमेत गुमेको थियो । मानवीय संवेदना हराएको त्यो वेला निर्ममतापूर्वक गरिएको हत्या देशका लागि नभई स्वार्थ केन्द्रित मात्रै थियो भन्ने कुरा कथाले बोलेको छ । जातिवादभित्रको तत्कालीन धङधङीलाई कथाले सरल तरिकाले प्रष्ट्याएको छ ।

अन्त्यमा
मन मस्तिष्क हल्लाउने कथाको सँगालो दंशले निराशालाई आशाको किरण, खतरालाई सतर्कता, लक्षित वर्गप्रति समानता र न्याय, दिलाउनुअघि बढ्न सचेत गराउँछ । कतै ज्यादै गहिरो, गहकिलो विषयवस्तु त कतै ससाना कुराको मूल विषयलाई बोकेर पाठकको मनलाई चेतनाको उच्चतामा पु¥याउन खोजेका छन् । थकित मनहरू, कपटपूर्ण राजनीतिक र वैचारिक झेललाई कथाले कतै पनि नडगमगाई प्रस्तुत गरेको छ । कथाकारले कठिन र जटिल विषयलाई सरल ढंगले यथार्थपूर्ण तरिकाले टुंग्याएका छन् ।

यति हुँदाहुँदै पनि कथाकारले केही कथा उस्तै तरिकाले प्रस्तुत गर्नु उनको कमजोरी हो । सम्पादनका दृष्टिले केही ठाउँमा चुकेका पनि छन् । उनको पहिलो कथासंग्रह भएकाले प्रयास चाहिँ निकै राम्रो देखिन्छ । दंश कथा संग्रह शाब्दिक बुक्सले बजारमा ल्याएको हो । दिनमान गुर्मछानको यो कथा आरम्भले नेपाली साहित्यमा थप उचाइ थप्नेमा विश्वास लिन सकिन्छ । दंशभित्र १८ वटा कथा रहेका छन् ।

प्रतिक्रिया