सांगीतिक क्षेत्रमा अब्बल ‘पिएन सापकोटा’

बाबुराम सिग्देल, काठमाडौं । पिएन सापकोटा प्युठानमा जन्मिए । बाल्य अवस्था भनौँ या स्कुल पढ्दा देखि नै उनी कलाकारिता क्षेत्रमा आबद्ध थिए । पूर्वदेखि पश्चिम, महाकाली सम्मका जनतालाई जागरुक बनाउने खालको गीत गाउँदै उनी हिड्न थाले । जनता जागरुक गराउने खालको गीत गाउँदै, नाच्दै, हार्मोनियम बजाउनुको साथै विभिन्न कार्यक्रममा उद्घोषकको रूपमा पनि काम गर्दै जाँदा अझै कलाकारिता क्षेत्रमा होमिएको सापकोटा बताउँछन् ।

०६३ सालबाट औपचारिक रूपमा यस क्षेत्रमा होमिएका उनले सुरुमा दोहोरी साँझमा हुने सांगीतिक क्षेत्रका विभिन्न काम गर्दै आएको बताए । यतिवेला पनि उनी गीत संगीतका हरेक क्षेत्रमा अब्बल मानिएका छन् । चलचित्रमा पनि नायकको भूमिकामा अभिनय गरेको उनले बताए । यतिवेला भने उनी धेरैजसो म्युजिक भिडियोमा अभिनय गर्न बढी क्रियाशील रहँदै आएका छन् । समयअनुसार गीत गाउनदेखि लिएर सांगीतिक क्षेत्रका सबै काम गर्नबाट पछि नसर्ने उनको भनाइ छ ।

उनी देश तथा विदेशका कार्यक्रममा पनि आफ्ना कला प्रस्तुत गर्न जाने आउने क्रम निरन्तर चलिरहेको छ । विगत १२ वर्ष अगाडिदेखि यहि क्षेत्रमा निरन्तर लाग्दै आएका गायक तथा नायक सापकोटाले अब यसैलाई अझै सशक्त बनाएर अगाडि बढाउँदै जाने बताए । आफूलाई सबैभन्दा बढी मनपर्ने लोक संगीतलगायत जुन गीतले मौलिकता बोकेको छ, देशको संस्कृति बोकेको छ त्यस्तो सबै प्रकारका गीत मनपर्ने उनले बताए ।

केही एल्बममा आफ्नै आवाज दिनुका साथै तीन दर्जनको हाराहारी म्युजिक भिडियोमा अभिनय गरेको उनले बताए । गीत संगीतमा पछिल्लो पटक केही विसंगतिहरू आउन थालेका छन् । यस विषयमा उनी भन्छन्, ‘लोक गीत संगीतमा विकृति हुँदैन, विकृति भनेको व्यक्तिले ल्याउने हो ।

कुनै म्युजिक कम्पनी तथा कुनै गायक, गायिका तथा व्यक्तिले ल्याएको लोक संगीतको नाममा छाडापन भएको गीतलाई लोक गीत भनेर प्रचार गर्न नहुने उनले बताए । राष्ट्रको अभिन्न अंग मानिने कलाकारिता र गीत संगीतलाई कसैले पनि व्यक्तिगत व्यवसायको रूपमा लिन नहुने सापकोटाले बताए । उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका वर्तमान अध्यक्षसमेत रहेका छन् ।

प्रतिक्रिया