महानगरका विद्यार्थीको एउटै पोशाक

शरद शर्मा, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका भित्रका सवै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागु गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रूपान्तरण अभियान सुधार सोच’ कार्यक्रम अन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरूपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सिताराम कोइरालाले जानकारी गराए ।

‘विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ’, उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरूपता ल्याउन थालेका हौं ।’ उनले अहिले लगाइरहेका विद्यार्थीको पोशाक फाटेपछि नयाँ पोशाकका लागि एउटै प्रकारको पोशाक लागू गरिने बताए । ‘एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुन्छ’, उनले भने, ‘विस्तारै महानगरभित्रका सबै विद्यालयमा ३–४ वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको छ ।’

विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका संघसंगठन र अभिभावकसँग छलफल, अन्तत्र्रिmया गरी पोशाकको कस्तो बनाउने भन्ने निर्णय गर्ने छ । शिक्षा अधिकारी कोइरालाले समाजवादी शिक्षा दिनका सुरुआती चरणको रूपमा विद्यार्थीको पोशाकमा एकै प्रकार लागू गरी विभेद हटाउन थालिएको बताए ।

‘अहिले विद्यालय पिच्छे फरक फरक पोशाक रहेका छन् । जसले गर्दा घरबाट नै विद्यार्थी निस्कँदा विभेद देखिन्छ’ उनले भने, ‘घरबाट नै शिक्षामा विभेद हटाउनका लागि एउटै घरमा भएका विद्यार्थीले फरक–फरक विद्यालयमा पढे पनि एउटै पोशाक लगाएर विद्यालय जानेछन् । जसले गर्दा कुन विद्यार्थी कुन विद्यालयमा गएको थाहा हुँदैन ।’ महानगरले पोशाक एउटै गरे पनि विद्यालयले टाई र लोगो भने आ–आफ्नो प्रयोग गर्नेछन् ।

शिक्षा अधिकारी कोइरालाले एउटै पोशाकले सामुदायिक विद्यालयको सुधार र विद्यार्थीको आकर्षण बढाउनका लागि सहयोग पुग्ने बताए । विभागले महानगरको सभा र कार्यपालिकामा एउटै पोशाकबारे छलफल समेत गर्ने छ । यसैगरी महानगरले विद्यालयको विदामा समेत एकरूपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ ।

आगामी शैक्षिक सत्रदेखि विदेशी कुटनैतिक नियोगबाट सञ्चालन भएका विद्यालय बाहेकका सवै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन विदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताए । उनले क्यालेण्डर लागु भएपछि अलग अलग विद्यालयमा अलगअलग विदा दिने प्रचलन बन्द हुने बताए ।

विभागले काठमाडौ जिल्लामा कुनै पनि विद्यालयको शिक्षकको दःुखदायी निधन हुँदा जिल्लाभरका सवै विद्यालय बन्द हुने अवस्थाको अन्त्य गरी शिक्षक कार्यरत विद्यालयमात्र शोकसभा गरी बन्द गर्न र अन्य विद्यालयमा आवश्यकता भए शोकसभा गरी विद्यालय सुचारु राख्ने व्यवस्था गरिने उनले जानकारी गराए ।

महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक विदाको समते कटौती गदै स्थानीय विदाका लागि व्यवस्था भएको ५ दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्यरूपमा लिनुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया