प्युठानमा प्रेस परिचय पत्र वितरण

बासुदेब गिरी, प्युठान । प्युठानमा प्रेस प्रतिनिधि कार्ड वितरण गरिएको छ । नेपाल सरकार सुचना प्रविधि मन्त्रालयको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको सहआयोजनामा परिचय पत्र वितरण गरिएको हो ।

मन्त्रालयले मुलुक भरका जिल्लाहरुमा सुचना मन्त्रालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु उपलब्ध गराउने उदेश्यले यो कार्यक्रम गरिएको मन्त्रालयका निर्देशक धु्रव कुमार पोख्रेलले जानकारी दिए ।

दुर्गम क्षेत्रमा रहेका पत्रकारहरुलाई सहज रुपमा प्रेस परिचय पत्र उपलब्ध गराउन परिचय पत्र वितरण गर्न लागिएको उनले बताए । नेपाल सरकार सुचना तथा प्रशारण विभागले मुलुकभरीका दुर्गम क्षेत्रहरुलाई प्राथमिकतामा राखी घुम्ती शिविर चलाएको उनको भनाई छ ।

श्रमजिवी पत्रकारहरुलाई प्रेस प्रतिनिधि कार्ड लिन जिल्ला बाहिर जाँदा समस्या र खर्चिलो हुने भन्दै जिल्ला भित्रै यो सेवा दिएको पत्रकार महासंघका जिल्ला शाखा प्युठानका अध्यक्ष महाविर राना मगरले बताए । अगिल्लो वर्ष छिमेकी जिल्ला दाङ जिल्लाबाट गरिए पनि यस वर्ष जिल्लाबाटै परिचय पत्र वितरण गरिने व्यवस्था मिलाईएको उनले बताए ।

मंसिर २० र २१ गते सम्म सञ्चालन हुने शिविरमा पहिलो दिन नयाँ परिचय पत्र ३१ त्यस्तै नवीकरण गर्ने २७ गरि ५८ जना श्रमजिवी पत्रकारहरुले परिचयपत्र प्राप्त गरेका छन् । यसै अवसरमा संस्था दर्ता संञ्चार संग सम्बन्धित सिफारिस समेत प्रदान गरिएको मन्त्रालयका नायब सुब्बा रमा निरौलाले जानकारी गराएकी  छन ।

उक्त समुहमा सुचना विभागका निर्देशक धु्रव कुमार पोख्रेलको नेतृत्वमा शाखा अधिकृत रुपा विक,  नायब सुब्बा रमा निरौला, लेखापाल सुजन निरौला लगाएतको टोलीको उपस्थिती रहेको थियो । शिविरमा प्युठान संगै छिमेकी जिल्ला रोल्पाका पत्रकारको पनि परिचय पत्र बनाएका छन् ।

प्रतिक्रिया