विद्युतका कर्मचारीमाथि कुटपिट

लहान । हुकिङ गरी विद्युत चुहावट नियन्त्रण गर्न छडकेमा सिरहा नगरपालिका १३ स्थित गम्हरीया फूलबरीया पुगेको विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि स्थानीयवासीले कुटपिट गरेका छन् ।

विद्युत चोरी नियन्त्रण गर्न गए राति पुगेको टोलीलाई हेर्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवमाथि कुटपिट गरेका हुन् ।

फूलबरीया गमहरियाको एक घरमा मिटर वाइपास गरी पहिले चुहावट गरिरहेको सूचनाको आधारमा छड्केमा पुगेको विद्युत कर्मचारीमाथि कुटपिट गरेको विद्युत प्राधिकरण वितरण केन्द्र सिरहाका प्रमुख अवधेशकुमार दुवेले जानकारी दिए । स्थानीयवासी पवितर यादव, घुरन यादव, श्याम ठाकुरलगायतको समूहले कुटपिट गरेको घाइते कर्मचारीले बताएका छन् ।

घाइते अरुणलाई सिरहा अस्पतालमा उपचारपछि घर फर्काइएको छ । सिनियर मिटर रिडर कुसियैतको विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख दुवेले जानकारी दिए । कुटपिट गर्नेविरुद्ध मुद्दा चलाउने तयारी गरिएको छ ।

सात लाख लुटियो

अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका १० स्थित उग्रचण्डी पेट्रोलपम्प नजिकै एक जनामाथि लुटपाट गरेका छन् । गोलबजारस्थित ज्योति विकास बैंकबाट रकम झिकेर बा ५५ प ४३५५ नम्बरको मोटरसाइकल चढेर आइरहेका धनगढीमाई नगरपालिका १० निवासी २३ वर्षीय चितकुमार कामैतसँग रहेको नगद रु सात लाख लुटिएको हो ।

गोलबजारबाट लहानतर्फ आउने क्रममा अनटेस्ट लेखेको रातो रङको अपाची मोटरसाइकलमा आएका अपरचित दुई व्यक्तिले झोलामा रहेको उक्त नगद लुटेर फरार भएको प्रहरीले जनाएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया