बक्यौता नतिरेका कारण सौर्यको उडान बन्द

काठमाडौं । सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई ३ करोडभन्दा बढी बक्यौता नतिरेका कारण उडान बन्द भएको छ।

निजी हवाई सेवा प्रदाय कम्पनी सौर्य एयरलाइन्सलाई बारम्बार बक्यौता तिर्न समय दिए पनि रकम भुक्क्तानी नगरेपछि नियमित उडान बन्द गराएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सौर्य एयरलाइन्सले सोमबार भित्र बक्यौता मध्येको केही चुक्ता गर्ने बचन दिएको छ । एयरलाइन्सले बक्यौता चुक्ता नगरेसम्म उडान हुन नदिने पक्षमा कार्यालय देखिएको छ ।

विमानस्थल कार्यालयले माघदेखि ताकेता गर्दा अहिलेसम्म १ करोड ७० लाख रुपैयाँ तिरेको र अब झन्डै तीन करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ

सौर्य एयरलाइन्स दीपक पोखरलेको स्वामित्वमा रहँदा नै विमानस्थल कार्यालयलाई झन्डै ३ करोड रुपैयाँ बुझाउनुपर्ने थियो। आर्थिक संकट बढ्दै गएपछि पोखरेलले एयरलाइन्स ६१ करोडमा बिक्री गरेका थिए।

उक्त एयरलाइन्स साउनको अन्तिम साता व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले खरिद गरेको थियो ।

खरिद गर्ने टिमले एयरलाइन्सले विमानस्थल कार्यालयलाई तिर्न बाँकी रकम तिर्ने सहमति गरेको थियो। तर, नयाँ व्यवस्थापनले एयरलाइन्स कम्पनी खरिद गरेर नियमित उडान सुरु गरेको तीन महिना हुँदा पनि बक्यौता चुक्ता गरेको छैन।

सौर्य एयरलाइन्स कम्पनी हाल रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ। तर सञ्चालक टिममा भने अरु पनि सदस्य छन्।

सौर्यसँग सिआरजे २०० सिरिजका दुईवटा जहाज छन्। एउटा जहाजले नियमित उडान भरिरहेको छ। अर्कोमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन ।

प्रतिक्रिया