‘ए’ डिभिजन लिग फुटबल आज दुई खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगअन्तर्गत आज दुई खेल हुँदै छ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने छैटौँ चरणको अन्तिम दिनको खेलमा आज फ्रेण्ड्स क्लबले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबसँग खेल्नेछ । लिगको उपाधि दाबेदार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई फ्रेण्ड्सविरुद्व जीत निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका छ । पहिलो खेलमा न्यूरोड टिम एनआरटी सँग २–२ को बराबरीमा रोकिएपछि आर्मीले लगातार चार खेलमा जीत हात पारेको छ ।

आर्मी पाँच खेलबाट १३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । फ्रेण्ड्स चार अङ्कसहित तालिकाको १०औं स्थानमा छ । ब्रिगेड पाँच खेलबाट तीन अङ्क जोडेर १२औँ स्थानमा रहँदा मछिन्द्र दुई अङ्कका साथ तालिकाको १३औं स्थानमा छ ।

प्रतिक्रिया