आश्रयगृहबाट आठ नेपाली महिला बेपत्ता

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित एउटा रेडलाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका आठजना नेपाली महिलाहरू हराएका छन् ।

दिल्लीकै दिलसाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ । ती महिलाहरूलाई दिल्लीको जिबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो ।गत शनिबार र आइतबार राती ती आठ नेपाली र एक भारतीयसहित नौजना महिला आश्रयगृहबाट एकाएक हराएका थिए । उनीहरू आफैँ त्यहाबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने हालसम्म पत्ता लाग्न सकेको छैन ।

सरकारी आश्रयगृहबाटै महिलाहरू हराएको विषयमा दिल्लीस्थित महिला आयोगले चासो देखाएको छ । आम आद्मी पार्टीको सरकार रहेको दिल्लीमा विपक्षी भारतीय जनता पार्टीले भने दिल्ली सरकारको विरोध गर्दै आश्रयगृह अगाडि प्रदर्शन गरिरहेको बिबिसी हिन्दीका संवाददाता कमलेसले बताइन् ।

उनका अनुसार हराएका महिलाहरूबारे प्रहरीले थप तथ्यहरू भने पत्ता लगाउन सकेको छैन । भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीले आश्रयगृहबाट नेपाली महिलाहरू हराएको बारे दूतावासलाई जानकारी भएको बताए ।

उनले भने, ‘हामी त्यसबारेमा सचेत छौँ र यहाँका निकायहरूसँगको सहकार्यमा उनीहरूलाई पत्ता लगाउनका लागि दूतावासले पनि काम गरिरहेको छ ।’ बिबिसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको सिकार भएको बताएको छ ।

अधिकारवादीहरूले नेपालबाट भारतमा यौन व्यवसायका लागि महिलाहरूको बिक्री हुने गरेको बताउँदै आएका छन् । पछिल्ला वर्षहरूमा नेपाली महिलाई अवैधरूपमा खाडी मुलुक पठाउनका लागिसमेत भारतको बाटो प्रयोग हुने गरेको पाइएको छ । तीन महिनाअघि पनि दिल्ली महिला आयोगले अवैधरूपमा खाडी पठाउन लागिएका ७१ नेपाली महिलाको उद्धार गरेको थियो ।

भारतस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार यसरी अवैधरूपमा महिलालाई खाडी पठाउन फर्जी कागजातको समेत प्रयोग हुने गरेको पाइएको थियो ।

प्रतिक्रिया