नेपालका तीन खेलाडी अन्तिम १६ मा

काठमाडौं । नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङसँगै तीन नेपाली खेलाडीले योनेक्स सनराइज नेपाल इन्टरनेशनल सिरिजमा विजययात्रालाई निरन्तरता दिँदै अन्तिम १६ को टिकट काटेका छन् ।  सशस्त्र प्रहरी बलको हल्चोकस्थित कभर्डहलमा अन्तिम ३२ अन्तर्गत बुधबार रत्नजितले मोरिससका नेजराज पुल्टोमाथि २१–९, २१–८ को सोझो सेटमा जित निकाल्दै आगामी चरणको यात्रा तय गरे ।

रत्नजितसँगै पूर्व नेपाल च्याम्पियन विकास श्रेष्ठ र विजित थापा मगरले पनि अन्तिम ३२ को खेलमा जित हासिल गरे । विकासले आफ्नै देशका जीवन आचार्यलाई तीन सेटसम्म चलेको खेलमा २१–१४, १९–२१, २१–१८ को नतिजामा हराउँदा विजितले भुटानका कर्मा छेन्ध्रुमाथि २१–१०, २१–१३ को सहज जित निकाले ।

दोस्रो दिन पुरुष एकलतर्फ नेपालका दीपेश धामी, प्रफुल महर्जन, प्रिन्स दाहाल र नवीन श्रेष्ठले भने जितको शृंखलालाई निरन्तरता दिन सकेनन् । दीपेशलाई मलेसियाका तेक झी सू, प्रफुललाई भारतका अमेया ओक, प्रिन्सलाई भियतनामका ली डुक पाट तथा नवीनलाई थाइल्यान्डका कुन्लाभुट भिटिडसार्नले हराएका थिए । दीपेश र नवीनले आ–आफ्ना प्रतिद्वन्द्वीलाई तीन सेटसम्म रोके पनि प्रफुल र प्रिन्स भने सोझो सेटमै पराजित भएका थिए ।

मिक्स डबल्समा नेपालका दीपेश धामी र सोभा गौचनको जोडीले बंगलादेशको मोहम्मद सल्मान खान र एलिना सुल्तानाको जोडीलाई २१–१७, २१–१७ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गर्दा विजित र पूरा श्रेष्ठको जोडी पनि अन्तिम आठ पुग्न सफल भयो । विजित र पूजाको जोडीले जर्मनीका फिलिप डिस्चर र फ्रान्सकी साशिना भिग्नेस वारेनको जोडीमाथि १८–२१, २१–१५, २१–१३ को विजयी नतिजा निकालेको थियो ।

यसैगरी किवास र सीता राईको जोडीले पनि क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्ने क्रममा बुधबार अन्तिम १६ को खेलमा माल्दिभ्सका टी मोहम्मद र ए अब्दुल रजाकलाई २३–२१, २१–१९ को नतिजामा निराश पारे । पुरुष युगलतर्फ दीपेश र रत्नजीतको जोडीले भारतका भाजिद अली र आयुश गर्गको जोडीलाई २१–१०, २१–११ को सोझो सेटमा हराउँदै अन्तिम आठको यात्रा गरे ।

महिला एकलतर्फ नेपाल नम्बर एक खेलाडी नङसल देवी तामाङ, अनुमाया राई, जेसिका गुरुङ र सिता राईले अन्तिम १६ का खेलमा पराजय बेहोरे । त्यस्तै पुरुष युगलमा प्रफुल महर्जन र रुकेश महर्जन तथा दीपक बोहरा र विष्णु कटवालको जोडीले पनि अन्तिम १६ को पर्खाल नाघ्न सकेनन् ।

प्रतिक्रिया