छोरी जन्माउनेलाई निःशुल्क उपचार

विराटनगर । विराटनगर–११ महेन्द्र चोक दक्षिणमा रहेको म्याक्स हस्पिटल एण्ड ट्रमा सेन्टरले पहिलोपटक ‘छोरी बचाउ’ अभियान ल्याएको छ ।

महिला सशक्तीकरण अभियानअन्तर्गत ‘छोरी बचाउ’ अभियानलाई थप प्रभावकारी बनाउन अस्पतालमा छोरी जन्माउने जति पनि महिला डेलिभरी केसमा सबै खर्च निःशुल्क गर्ने जनाएको छ ।

म्याक्स हस्पिटलले बुधबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै डेलिभरी केसमा छोरी जन्मिएपछि लाग्ने खर्चपानी सबै बेहोर्ने जनाएको हो ।

म्याक्स इन्टरनेसनल हस्पिटल एन्ड ट्रमा सेन्टर प्रालिका अध्यक्ष शत्रुघ्न यादवले भने, ‘महिला सशक्तीकरण अभियालाई थप टेवा पुग्ने हिसाबले अस्पतालमा भर्ना भएका दिदीबहिनीहरूले छोरी जन्म दिएको अवस्थामा आजदेखि नै उपचारमा निःशुल्क गर्ने निर्णय गरेका छौँ ।’

‘यसले गर्दा भोलिको दिनमा भ्रुणहत्या रोक्नलाई पनि मद्दत पुग्ने भएकाले यसलाई अगाडि बढाएको हौँ, यादवले भने, ‘भोलिको मितिदेखि अस्पतालमा भर्ना भएका डेलिभरी केसमा छोरी जन्मिएको केसमा शल्यक्रिया बापत्को सम्पूर्ण शुल्क छुट गरेका छौँ ।’

साथै अस्पतालले जेष्ठ नागरिक र सहिद परिवारका आफन्तलाई पनि २५ प्रतिशत सेवा शुल्कमा छुट दिने व्यवस्थाको घोषणा गरेको छ । जेष्ठ नागरिक सम्मान सेवा कार्यक्रम अन्तर्गत ७० वर्ष र सो भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मानसहित २५ प्रतिशत उपचार सेवा शुल्कमा छुटको व्यावस्था गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी सहिद परिवार सम्मानअन्तर्गत नेपालमा भएका विभिन्न चरणमा आन्दोलनमा घाइते, अंगभंग भएका सहिद परिवारलाई पनि २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

भूकम्परहित करिब ११ करोडको लगानीमा २०७४ वैशाख २९ गते स्थापना भएको अस्पतालमा ४ सय ३६ जनाले ओपिडी सेवा लिइसकेको अस्पताललका मेनेजिङ डाइरेक्टर हेमनारायण मेहताले जानकारी दिए । त्यसैगरी ४ सय ३६ जना मेजर अप्रेसन र १ सय ८८ जनाले माइनर अप्रेसन गरिसकेको मेहताले बताए ।

प्रतिक्रिया