उनको मुस्कुराहट फेरि फर्क्यो

एजेन्सी, न्युयोर्क । आत्महत्या गर्न आफँैले आफैँलाई गोली हान्दा क्यामरन अन्डरवुडले नाक, चिउँडोको सबैजसो भाग र एउटाबाहेक सबै दाँत पनि गुमाए । त्यसको दुई वर्षपछि बोल्दै उनले भने, ‘मेरो नाक छ, मुख छ, म मुस्कुराउन सक्छु, बोल्न सक्छु र ठोस पदार्थ खान सक्छु ।’ क्यामरन २६ वर्षका छन् । न्युयोर्कमा बोल्दै उनले भने, ‘अनुहार प्रत्यारोपण गर्न पाउँदा म असाध्यै आभारी छु यसले मलाई जिउने दोश्रो मौका दिएको छ ।’

यसै वर्षको जनवरी महिनामा न्युयोर्क विश्वविद्यालयको ल्याङवान हेल्थ सेन्टर म्यानहटन न्युयोर्कमा १ सय जना स्वास्थ्यकर्मीहरूले २५ घण्टा लगाएर क्यामरनको अनुहार प्रत्यारोपण गरेका थिए । उनको स्वास्थ्य अवस्थाबारे गत हप्ता मात्र सार्वजनिक गरिएको थियो ।

क्यामरनले आत्महत्या प्रयास गरेको १८ महिनापछि शल्यक्रिया गरिएको थियो । बाहिर घुम्न, खेल्न, साथीभाइं र परिवारसँग समय बिताउन उनलाई असाध्यै मन पर्छ । ती सबै काम अहिले गर्न पाएको बताउँदै उनले भने, ‘म छिटै काममा फर्कने आशामा छु र कुनै दिन परिवार बसाउन सक्छु ।’

पहिलोपटक सन २००५ मा अनुहार प्रत्यारोपण गरिएपछि अहिलेसम्म विश्वभर गरी ४० शल्यक्रिया सम्पन्न भइसकेको छ । शल्यक्रियाको नेतृत्व गरेका डा. एडवार्डो डि. रोड्रिगेज भन्छन्, ‘स्वास्थ्य क्षेत्रमा भएको विकास मात्रैले होइन क्यामरनको बलियो इच्छाशक्तिले शल्यक्रिया सफल भएको हो । उपचारको सफलता त बिरामीमै निहित छ । क्यामरनले कटिबद्ध भएर गर्नुपर्ने काम सबै गरे ।’

अमेरिकी इतिहासमा घाइते भएको छोटो समयमै अनुहार प्रत्यारोपण गरेको यो पहिलो अवसर भएको बताइएको छ । डा. रोड्रिगेजले भने, ‘त्यसका कारण क्यामरनले मानसिक समस्याका कुराहरू लामो समय भोग्नुपरेन। त्यस्ता कुराहरू लामो समय भोग्नुपरे मानिस गम्भीर मानसिक अवसादमा पुग्न सक्छ र अन्य घातक व्यवहार पनि गर्न सक्छ ।’

शल्यक्रियाका वेला डाक्टरहरूले उनका ३२ वटै दाँत, चिउँडो र माथिल्लो भाग पुनस्र्थापित गरेका थिए । उनको मुखको तल्लो र माथिल्लो भित्ता आँखाको तल्लो भाग र नाकहरू नयाँ बनाइएको थियो । जिब्रो पनि बनाइएको थियो । केन्द्रका अनुसार शल्यक्रिया अनुहार प्रत्यारोपणको पछिल्लो विकसित प्रविधि प्रयोग गरेर बनाइएको थियो । पहिलोपटक अनुहार ३ डी प्रविधि प्रयोग गरेर दाताको अनुहारको उपयोग गरिएको थियो । दाता २३ वर्षीय उदीयमान लेखक, फिल्म निर्माता र चेस च्याम्पियन विल फिसर थिए ।

विलकी आमा स्यालीले भनिन्, ‘मेरो छोराको दुःखदायी निधन भयो । उसको निर्णयको सम्मान गर्दै हामीले अरूलाई जीवन दिन सफल भएकोमा धन्य छु । वील र डाक्टर रोड्रिगेजले क्यामरन र उनको परिवारलाई उनीहरूको सपना पुनः पूरा गर्ने मौका दिएका छन् ।’

‘यसले मलाई असाध्यै कठिन समयमा पनि शक्ति दिएको छ । क्यामरनलाई दिन नपाएको भए मैले छोराको मृत्यु सहन सक्ने थिइन कि जस्तो लाग्छ । मेरो छोराले क्यामरनलाई राम्रो जीवनका लागि सहयोग गर्रोस् भन्ने सोच्न पाउँदा मलाई खुसी लागेको छ ।’

क्यामरनले अस्पतालको प्रेस सम्मेलनका बेला विल र फिसर परिवारप्रति सम्मान प्रकट गरेका थिए । ‘स्याली र उनका परिवारको योगदानको म र मेरा परिवारले उच्च प्रशंसा गर्छौं र म सँधै विलको विरासत धान्नेछु ।’, उनले भने, ‘शल्यक्रियामा असाध्यै आश्चर्यजनक विकासहरू भएका छन्, म त्यसको जिउँदो उदाहरण हुँ तर त्यो त विल र उनका परिवार जस्तै विशेष मानिसहरूका कारण मात्र सम्भव हुन्छ ।’

प्रतिक्रिया