संग्रौला र थापालाई हरितारा चलचित्र पुरस्कार

काठमाडौं । हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेता लय संग्रौला र अभिनेत्री रेखा थापालाई सम्मान गरिएको छ । परिवर्तन नामक संस्थाले मंगलबार ‘हरितारा चलचित्र पुरस्कार– २०७४’ बाट संग्रौला र ‘हरितारा चलचित्र पुरस्कार–२०७५’ अभिनेत्री थापालाई प्रदान गरेको हो ।

दुवै पुरस्कारको राशि २५ हजार र ताम्रपत्र रहेको छ । सो पुरस्कार निजी क्षेत्रबाट स्थापित पहिलो पुरस्कारका रूपमा परिचित छ । ०५२ देखि यो पुरस्कार चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई प्रदान गरिँदै आएको छ ।

यस्तै, १० हजार राशिको ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार–२०७४’ अभिनेता उत्तम केसी र २०७५ को उक्त पुरस्कार सञ्चारकर्मी विजयरत्न तुलाधरलाई प्रदान गरियो ।

‘परिवर्तन सम्मान–२०७५’ बाट अभिनेता रामकाजी घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री शोभिता सिम्खडालाई सम्मान गरियो । ती सबै पुरस्कार कलाकार बसुन्धरा भुसाल र प्रथम नेपाली नायिका भुवन चन्दले प्रदान गरेकी थिइन् । सो अवसरमा अभिनेत्री भुसालले चलचित्रमा लाग्ने कलाकारलाई अभिप्रेरित गर्ने निजी क्षेत्रको पहिलो पुरस्कारले कलाकारलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताइन् ।

पुरस्कृत अभिनेता संग्रौलाले सिर्जनाको कर्मलाई निरन्तरता दिएमा सफलतामा पुगिन्छ भन्ने उदाहरण पुरस्कारले पेस गरेको बताए । अभिनेत्री थापाले चलचित्र क्षेत्रको विभेद अन्त्य र समाज परिवर्तनका लागि चलचित्रमार्फत नारी सशक्तीकरणका लागि निरन्तर संघर्ष गर्दै आएकाले सफलता मिलेको धारणा राखिन् ।

प्रतिक्रिया