सुपथ मूल्यमा पढ्न पाउँदा खुसी

बैतडी । सुदूरपश्चिम प्रदेशको विकट पहाडी जिल्ला बैतडीमा सिटिइभिटीले प्राविधिक शिक्षालय खोलिदिँदा यहाँका स्थानीय विद्यार्थीले पनि प्राविधिक शिक्षा पढन पाएका छन् ।

आर्थिक अवस्था मजबुत भएका विद्यार्थी त महँगो शुल्क तिरेर पनि जहाँसुकै पनि पढिरहेका थिए तर आर्थिक अवस्था कमजोर तर प्राविधिक शिक्षा पढन इच्छुक विद्यार्थीले भने पढ्न सकेका थिएनन् ।

यसै शैक्षिक सत्रदेखि सिटिइभिटीले बैतडीको पाटनमा देशभरिकै कलेजको भन्दा सस्तो शुल्कमा डिप्लोमा इन एग्रिकल्चर (वाली विज्ञान) को पढाइ सुरु गरेपछि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले पनि पढ्न पाउँदा विद्यार्थी खुसी भएका छन् ।

‘महँगो शुल्क तिरेर र टाढाटाढा गएर पढ्न सक्दैनथ्यौँ । घर नजिकै र थोरै शुल्कमा कलेजले पढाइ गर्ने भनेर सुनेपछि भर्ना भएकी हुँ’, वालीविज्ञान पढ्ने छात्रा सीता भाटले बताइन् ।

विद्यार्थीले यो कलेजमा १३ हजार ५० मात्र वार्षिक शुल्क तिर्नुपर्नेछ भने यही कोर्ष बाहिरी कलेजमा पढ्दा ४ लाख ५० हजारसम्म तिर्नुपर्दछ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले सहुलियत दरमा पढ्न पाउन र सबै विद्यार्थीको पहुँच प्राविधिक शिक्षामा होस् भनेर सबैभन्दा न्यून शुल्कमा पढाइ गराइरहेको भीमदत्त पोलिटेक्निक इन्स्टिच्युट पाटन बैतडीका शिक्षालय प्रमुख लालित्य गौतमले बताए ।

सिटिइभिटीले सुदूरपश्चिम प्रदेशका दिपायल र टीकापुरमा यस अघिदेखि नै पढाइ गरिरहेको थियो । अर्को शैक्षिक सत्रमा डेप्लोमा इन फरेस्टीको पनि पढाइ गर्ने तयारी गरिरहेको कलेजले जनाएको छ ।

प्रतिक्रिया