त्रिविमा विद्यार्थी संख्या बढ्दै

काठमाडौं । केही वर्ष विद्यार्थीको संख्यामा कमी आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी संख्यामा वृद्धि हुन थालेको हो ।

त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकी संकायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्राडा. ऋदीशकुमार पोखरेलले जानकारी दिए ।

त्रिविमा शैक्षिक सत्र ०६९-७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र ०७२÷७३ देखि लगातार अहिले विद्यार्थी संख्या बढेको उनले जानकारी दिए । शैक्षिक सत्र ०७१-७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी संख्या भएकोमा शैक्षिक सत्र ०७२÷७३ मा विद्यार्थी संख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा. शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकी संकाय पढ्ने विद्यार्थी बढेको बताए । उनका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामाजिक कार्य, परामर्श मनोविज्ञान, खेलकुद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेसन (बिसिए), सामाजिक कार्य (बिएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् ।

मानविकी संकायमा अर्थशास्त्र, राजनीतिक शास्त्र, सामाजिक शास्त्र र ग्रामीण विकासमा विद्यार्थीको संख्या पहिलेकै तुलनामा यथावत भए पनि नेपाली, इतिहास, भाषा विज्ञान जस्ता विषयमा विद्यार्थी संख्या घटेको डिन भुसालले जानकारी गराए । नयाँ–नयाँ कार्यक्रमले व्यवस्थापन संकायमा विद्यार्थी संख्या घटेका छैनन् । व्यवस्थापन संकायका डिन प्राडा. डिल्लीराम शर्माले सेमेस्टरका कारण स्नातकोत्तर तहमा विद्यार्थी घटे पनि स्नातक तहमा भने बढेको बताए ।

उनले पहिल्यैकै तुलनामा विद्यार्थी व्यवस्थापन संकायमा रहेको बताए । उनले आंगिक क्याम्पसमा नयाँ-नयाँ कार्यक्रम सञ्चालन भएकोले विद्यार्थी संख्या स्नातक तहमा बढेको जानकारी गराए । यस वर्षदेखि व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तहमा मास्टर अफ माउन्टेरिङ स्टडिज (एमएमएस), मास्टर इन पुलिस साइन्स (एमपिएस) सुरुवात गर्न थालेको छ भने होटेल म्यानेजमेन्ट, जनप्रशासन, व्यवस्थापन प्रशासन जस्ता विषय पढाइ हुने गरेका छन् ।

स्नातक तहमा ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम), ब्याचलर अफ माउन्टेरिङ स्टडिज (बिएमएस), ब्याचलर अफ बिजनेब म्यानेजमेन्ट (बिबिएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) जस्ता प्राविधिक विषय पढाइ हुने गरेका छन् । डिन शर्माका अनुसार स्नातकोत्तर तहमा वार्षिक कार्यक्रममा २५ हजार विद्यार्थी हुने गरेकोमा सेमेस्टरका कारण अहिले ८ हजार मात्र विद्यार्थी रहेका छन् । व्यवस्थापन संकायले त्रिवि केन्द्रीय क्याम्पसमा यस वर्षदेखि एमबिएमा अर्को सत्र सञ्चालन गर्ने भएको छ ।

पहिले ३५ विद्यार्थी मात्र पढाउने गरेकोमा अहिले थप अर्को सत्र सञ्चालन गरेर ३५ जनालाई पढाउन थालिएको उनले जानकारी गराए । शैक्षिक सत्र ०७३-७४ मा विद्यार्थी संख्या तीन लाख ६७ हजार ४२७ पुगेको छ । योजना प्रमख पोखरेलले नयाँ–नयाँ प्राविधिक विषयले त्रिविमा अहिले विद्यार्थी संख्या बढ्दै गएको बताए । शैक्षिक सत्र ०६८-६९ मा तीन लाख ७३ हजार ८४६ विद्यार्थी संख्याबाट शैक्षिक सत्र ०६९-७० मा झन्डै दुई लाख २५ हजार बढेर ६ लाख चार हजार ४३७ विद्यार्थी पुगेका थिए । त्यसपछि शैक्षिक सत्र ०७०-७१ मा त्यो संख्यामा पुनः एक लाख विद्यार्थी घटेका थिए ।

उक्त शैक्षिक सत्रमा चार लाख पाँच हजार ३४१ विद्यार्थी अध्ययरत रहेका थिए । योजना प्रमुख पोखरेलका अनुसार अहिले २ प्रतिशतका दरले विद्यार्थी संख्या वृद्धि भएको छ । यसैगरी, त्रिविमा महिला विद्यार्थीको संख्यामा समेत वृद्धि भएको छ । त्रिविको पछिल्लो तथ्यांकअनुसार महिला विद्यार्थीको संख्यामा ३४ प्रतिशत वृद्धि भएको उनले जानकारी गराए ।

प्रतिक्रिया