‘उद्वेग’ मार्फत खुलेका तेजविलास

प्रगतिवादी समालोचक-हाइकू कवि तेजविलास अधिकारीद्वारा रचित ‘उद्वेग’ हाइकू-सेन्यु सङ्ग्रहको पाण्डुलिपिमाथि घोत्लिँदै छु । उनले पाण्डुलिपि जनमत साहित्यिक मासिकको वार्षिकोत्सव २०७४ चैत्र २४ का दिन मेरो हातमा बनेपामा थमाएका हुन् । म जस्तो अल्छेसामु पाण्डुलिपिले आधा वर्ष अलमलमै बिताएछ ।

एकदिन उनले मोबाइलको घण्टी बजाएपछि पो म निद्राबाट झल्यास्य ब्युँझिएजस्तो भएँ । एक असल मित्रको पाण्डुलिपिलाई आधा वर्षसम्म गुमनाम पार्नुले म कम्ति रातोपिरो भएको छैन । लजालु ओंठ जस्तो अचम्मित भएको छु–अहिले । यो गुमनाम पाण्डुलिपिलाई साक्षी राखेर ‘उद्वेग’ एक अध्ययन गर्न थाल्दैछु जसमा पर्याप्त हाइकू र सेन्युको सङ्गम छ । उस्तै संरचनामा बन्धित अक्षर र हरफ उनिएको छ ।

हाइकू ५–७–५ गरी तीन हरफ र १७ अक्षरमा संरचित जापानी कविताको लघुतम रूप हो । यो बद्ध संरचना हो । जसको आन्तरिक संरचनामा सिद्धान्तत प्रकृतिको दर्शन वा ऋतुबोधक, क्रमिकता, अनन्त सम्भावना र पद्यमयता पर्दछन् । यी दुवै संरचनाकृत सिर्जना नै हाइकू हुन् । यो एक पलः एक झिल्का मात्रै हो । पाठकपिच्छे भिन्न अनुभूति र व्याख्यानको अवसर प्रदान गर्दछ ।

यसैलाई अनन्त सम्भावना भनिन्छ र शीर्षक पनि राखिँदैन । प्रधान विषय प्रकृति र जीवनको मर्मलाई हाइकूले उजागर गर्दछ, यो नै जीवन र जगत्लाई प्रतिबिम्बित गर्ने सूत्र बनेको हुन्छ । ऋतुबोधक बिम्ब आफैँमा प्राकृतिक दर्शन हो – यो चक्र क्रमिकता हो । मानव संस्कृतिको द्वन्द्वशील पाटोलाई समेत आत्मसात् गरेको छ । यो सूक्ष्म र गम्भीर पनि छ । हाइकू यसरी नै व्याप्त भइरहेको छ ।

तीन सय वर्षभन्दा लामो जापनी हाइकूको इतिहास आज विश्वभर प्रसिद्ध छ । जापानमा १४औं शताब्दीका मोरीताके एउटा इतिहास बनेका छन् । एदोकालीन हाइकू आदिकवि बासो (सन् १६४४–१६९४) ले होक्कु हुँदै हाइकू रचनालाई व्यापक तुल्याएका हुन् । त्यसो त बुसोन, ओबित्सुरा, सिकी, इसा आदि प्रतिभाशाली हाइकूकार (हाइजीन)को सिर्जनाबाट शङ्कर लामिछाने प्रभावित हुन पुगे ।

२०१९ सालको भदौको रूपरेखामा माकुरा जाल÷झोल्लिएको ओसले-तन्किँदै गयो । एउटा शक्तिशाली हाइकू लेखे, छापे । यो नै नेपाली हाइकूको प्रारम्भिक इतिहास बन्यो । यसै क्रमिकतामा सयौँ नेपाली हाइजिनमाझ तेजविलास अधिकारी पनि देखा परेका छन् । उनका हाइकूको माथि म पनि पाठकीय दृष्टिकोण राख्दैछु । जसको विस्तृत व्याख्या यो सानो टिपोटमा सम्भव छैन । जति छ, त्यति नै पर्गेल्ने छु । जस्तैः
पहिरो खस्छ
पहाडी भूगोलमा
सकस यात्रा !

प्रस्तुत हाइकू वर्षाकालीन उपज हो । यो प्राकृतिक द्वन्द्वको एक नियम हो । मानवीय पीडा र संवेदनालाई व्यक्त गरिएको छ । दुःख, कष्ट र अस्तव्यस्तताको सटिक चित्रण छ । सहज रूपमा वर्षाकालमा पहिरो जानु प्राकृतिक नियम भए पनि त्यसले पैदा गर्ने मानवीय संकटलाई हाइकूले सुन्दरसँग सम्प्रेषण गरेको छ । फेरि, अर्को हाइकू पढौं

छ भने आगो
पुग्छ है झिल्का दिए
जाग्दछ आशा !

परिवर्तन एउटा स्थायी र शाश्वत सत्य हो । जसले एउटा मुक्तिगामी यात्रालाई मुखरित गरेको हुन्छ । त्यो नै सौन्दर्य चेतना हो । प्रस्तुत हाइकूले अग्रगामी र क्रान्तिकारी संस्कृतिलाई उठान गरेको छ । खासमा एउटा सानो खुट्किलो र झिल्कोले पनि व्यापकता ल्याउन सक्छ । आस्था र विश्वास कहिल्यै पनि सानो हुँदैन । त्यसले परिवर्तन गरेर छोड्छ । उत्साह भरिरहनु निरन्तर यो हाइकूको सबल र सक्षम पक्ष हो ।
हाइकूकार तेजविलास अधिकारी यस्तै सुन्दर, मर्मस्पर्शी अरु पनि हाइकू छन् । सापेक्षतामा बोल्दै गरौँला । यसै संग्रहभित्र उद्वेगमा रचित सेन्युबाट आफ्ना धारणाहरू राख्ने कोसिस गर्दैछु ।

सेन्युमा तेजविलास
व्यङ्ग्य प्रधान जापानी शैलीको लघुतम कवितालाई सेन्यु भनिन्छ । यसलाई सेन्यो पनि भन्न सकिन्छ । ५–७–५ गरी १७ अक्षर र त्रिपदीय हरफमा बन्धित सेन्युको बाह्य संरचना हाइकूकै हो ।

हाइकू ५–७–५ गरी तीन हरफ र १७ अक्षरमा संरचित जापानी कविताको लघुतम रूप हो । यो बद्ध संरचना हो । जसको आन्तरिक संरचनामा सिद्धान्तत प्रकृतिको दर्शन वा ऋतुबोधक, क्रमिकता, अनन्त सम्भावना र पद्यमयता पर्दछन् । यी दुवै संरचनाकृत सिर्जना नै हाइकू हुन् । यो एक पलः एक झिल्का मात्रै हो । पाठकपिच्छे भिन्न अनुभूति र व्याख्यानको अवसर प्रदान गर्दछ

हाइकूमा प्रकृतिको दर्शन वा ऋतुबोधक बिम्बको प्रयोगलाई एक सर्तको रूपमा स्वीकारिन्छ । समयका क्रन्दनहरूलाई अभिव्यक्त गर्ने ढुकढुकी नै ऋतुबोधक बिम्ब हो । तर, सेन्युमा त्यसको अनिवार्यता छैन । जसको आन्तरिक संरचना स्वतन्त्र र व्यङ्ग्यात्मक हुने गर्छ । विकृत र विसङ्गत पक्षलाई प्रहार गर्नु सेन्युका लक्षण हुन् ।

जापानमा एदोकाल (१६०३–१८६८) मा सिर्जनात्मक व्यङ्ग्यले प्रचुर मात्रामा प्रहार गरेको पाइन्छ । त्यहाँदेखि नै सेन्युको प्रयोग हुँदै आएको हो । सयौं सेन्युका सर्जकहरू छन् । यसको व्याप्त प्रभाव हाइकू सिर्जनासँगै नेपाली साहित्यमा पनि देखा परेको छ । तर, हाइकू भनी रचिएका प्रशस्त सेन्युका उदाहरणहरू छन् । तिनको मात्रै मोटो संकलन बन्ने सम्भावना छ ।

यो फरक रूपमा हाइकूकार तेजविलास अधिकारी सुन्दर सम्भावनासहित अभिव्यक्त भएका छन् । उनले हाइकू र सेन्युको अन्तरविमर्श हुने गरी ‘उद्वेग’ (हाइकू÷सेन्यु) सङ्ग्रहमा प्रकाशित गर्न लागेका हुन् । उनका विषयमा म समालोचना वा समीक्षा लेख्दै छैन, मात्र एउटा टिपोट रच्ने अभिप्रायले ‘उद्वेग’ माथि खनिखोस्रो गर्दैछु । फेरि म त्यस्तो प्राधिकार पनि होइन, हारहमेसा घस्रिने प्रयत्नमा छु । एउटा पाठकको दृष्टिले मात्र म अभिव्यक्त हुँदैछ । उनका हाइकू र सेन्यु पनि मर्मस्पर्शी, रोचक, घोचक र जनस्पन्दनमा भिज्ने खालका छन् । जस्तैः

लुटको राज
देखिन्छ बाहिर पो
क्या छ, अचम्म !

प्रस्तुत सेन्युले अन्तर सौन्दर्यलाई चोटिलो र पोटिलोसँग अभिव्यक्त गरेको छ । व्यंग्यको सुन्दर झिल्को प्रकट भएको छ । विद्यमान थोत्रो र जर्जरयुक्त शासन प्रणालीविरुद्ध वर्गीय संघर्ष गरेको शक्ति नै सत्तामा पुग्दा पनि ‘लखनउ लुट’ जस्तो देखिनु विडम्बना हो । वर्गीय धरातल बिर्सेर उन्मत्त स्वार्थ लिप्साको नशामा रुमलिनुले जनताको सपना, भविष्य र समृद्धिको यात्रा पनि अक्करको गेडी जस्तै भएको अनुभूत गर्न सकिन्छ । यस चिन्ताले सेन्यु सर्जक तेजविलास अधिकारीलाई पिरोलेको देखिन्छ । तापनि यो आम चिन्ताको विषय हो ।

त्यस्तै अर्को मिठासपूर्ण सेन्युः
खाउ मिलेर
बाँकी रहेका भाग
ल पालैपालो !

आज निष्ठा, समर्पणको राजनीति र जीवन दर्शनमा यिनै गम्भीर प्रश्नचिन्ह खडा भएको छ । मुक्तियात्रा, बलिदान, त्याग–तपस्या, सहिद एकादेशको कथा भएको छ । चोचोमोचो र स्वार्थ लिप्सा संस्कृतिको निर्माण भइरहेको छ । सत्ता र संस्कृति वस्तुस्थितिको स्वभाव र स्वरूप केन्द्रित देखिन्छ । तसर्थ स्वाभिमान आकाशको फल जस्तै हुने हो कि ? सेन्यु सर्जक अधिकारीको चिन्ता र चासो मनासिब हो ।

‘उद्वेग’ भित्र हाइकू र सेन्युहरू केही न केही सामथ्र्यवान् छन् । तिनले प्रकृति, विश्व संस्कृति र जीवनका क्रियाकलापलाई गहन चित्रण गरेको छ । उदाङ्गो राजनीति, भेद्भाव, भाषिक भ्रष्टीकरण, असन्तुलित र टिठलाग्दो सत्ता नियति, सांस्कृतिक विचलन र अराजकतालाई सिर्जनात्मक विधिद्वारा हाइकूकार तेजविलास अधिकारीले उतारेका छन् ।

उनले हाइकू र सेन्युमा मानवीय द्वन्द्वा त्मक संवेदनालाई तुलनात्मक रूपमा आलोचनात्मक र यथार्थपरक ढङ्गले विषयवस्तु अघि सारेका छन् । मूलतः हाइकूकार अधिकारी सांस्कृतिक रूपान्तरणको दृष्टिकोणले सजग, सचेत र गम्भीर रूपमा देखापरेका छन् ।

प्रतिक्रिया