पुराना गीतको शब्द बंग्याउँदै ‘रिमिक्स’

‘फूलको थुँगा बहेर गयो गंगाको पानीमा
कहिले भेट होला है दाजै यो जिन्दगानीमा’
(माधवप्रसाद घिमिरे)

‘मनको बाँध’ चलचित्रमा नातीकाजीद्वारा संगीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित छ । गीत रेकर्ड भएको वषाैं बितिसक्दा पनि लोकप्रियता भने अझै कम छैन । सय वसन्त पार गर्न लागिसक्नुभएका राष्ट्रकवि घिमिरेले आफ्नो अन्य गीत पुनः रेकर्ड गरिए पनि यस गीतलाई भने रिमिक्स गर्न ‘मरे पनि नदिने’ बताउँदै आउनुभएको थियो तर यस गीतका कभर गीतहरू अहिले युट्युबमा प्रशस्तै भेटिन्छन् ।

मिलन अमात्य, सन्ध्या बुढा (काउली बूढी) गीत रिमिक्स गर्ने परिपाटि आजभोलि ह्वात्तै बढेको पाइन्छ । रिमिक्स (पुनः रेकर्ड) का नाममा नयाँ गीत बनाउने परिपाटिले गीतको मौलिकता नै हराउने हो कि भन्ने डर संगीतकर्मी र संगीतकर्मी दुवैमा छ ।

सर्लाही घर भई हाल नयाँ बानेश्वरमा बसोबास गर्दै आउनुभएकी २१ वर्षीया तुलसा थापा नेपाली गीतसङ्गीतमा छाडापान आएको महसुस गर्नुुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेका गीतभन्दा त पहिलेकै गीत नै सुन्नलायक छन् ।’ पुराना गीतजस्तै नयाँ बन्ने नेपाली गीतमा पनि नेपाली मौलिकपना घुसाउनुपर्ने थापाको भनाइ छ ।

हाल नेपाली गीतसंगीतमा पुराना गीतलाई नयाँ संगीत भरेर बनाउने परिपाटि कुनै नौलो होइन । थुप्रै पुराना गीत अहिले रिमिक्स (पुनः रेकर्ड) गर्ने प्रचलन झनै बढ्दै गएको छ । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ मा राखिएको ‘हे दाजु नसमाऊ नाडीमा’ बोलको गीतले कुनै दिन नेपाली बजारलाई खुबै तताएको थियो ।

जति यो गीतले उचाइ पायो, त्यसैगरी गीतका विरुद्ध टिप्पणी पनि आउन थाले । वास्तवमा यो गीत सन् १९६६ मा नै रेकर्ड गरिएको थियो । टिप्पणीसँगै यस गीतको पुरानो संस्करणलाई युट्युबमा समेत राखिएको छ । यो गीतमा संगीत कान्छा मगर नेपालीले दिनुभएको थियो भने स्वर लोचन भट्टराई र श्याम नेपालीले दिनुभएको थियो । यस गीतको पुरानो संस्करण र चलचित्रमा दिएको संस्करणको संगीतमा अलिकति पनि मेल खाएको पाइँदैन ।

पुराना थुप्रै गीतमा अंग्रेजी शब्द घुसाएर आफ्नै शैलीमा गाएका गीत सुन्दा राम्रो लागे पनि त्यस्ता गीतले स्रष्टालाई सम्मान नगरेको हो कि भन्ने भान हुन्छ । पुराना गीतलाई नबिगारी जस्तो शब्द र संगीत छ त्यसैलाई निरन्तरता दिएमा गीतको भाव नमर्ने गायक आनन्द कार्की बताउनुहुन्छ । ‘नयाँ गीत गाए पनि पुराना गायक र संगीतकार दुवैको नाम लिनैपर्छ,’ उहाँ भन्नुहुन्छ ।

पुराना गीतलाई नयाँ ढाँचामा ल्याइनुभन्दा पूरै नयाँ गीत नै ल्याएर चर्चा बटुल्नु उत्कृष्ट रहेको चाबहिलका ५१ वर्षीय रोमन श्रेष्ठ बताउनुहुन्छ । ‘पहिलेका स्रष्टाले कति राम्रा शब्दको रचना गर्थे, अहिले त जताततै आफू चर्चामा आउने होडबाजी नै चलेको छ,’ उहाँ आक्रोश पोख्नुुहुन्छ, ‘अरुको गीतलाई नै आफ्नो रचना भनेर दिनेले किन नयाँ रचना दिन नसक्ने ?’

त्यसैगरी नेपाली लोकगीत ‘लेकमा नाच्ने डाँफे चरी मधेशमा झ¥यो, भेट भा वेलाँ मायासँग हाँसखेल गर्नैपर्यो’ बेनीको बजार, जता माया उतै छ नजर’ तथा पुरानो आधुनिक गीत ‘आगे आगे तोपैको गोला पछि पछि मेसिन गन बरर’ लगायत ‘काले दाइले लगाएको कालै इष्टकोट’, ‘चिया बारीमा’, ‘आमैले भन्थिन् धाराको पानी’ लगायत थुप्रै गीत पनि रिमिक्स गरिएको पाइन्छ । कतिपय गीतमा शब्द र मौलिकता मरेको छैन भने कतिपयमा गीतको भाव र मौलिकता सबै भुलेर नयाँ स्वरूपमा रेकर्ड गरिएको पाइन्छ ।

संगीतकार भूपेन्द्र रायमाझी रिमिक्सका नाममा पुरानो गीतको भाव मर्न नहुने बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘नेपाली गीत र संगीतलाई बचाइराख्ने प्रमुख आधार भनेकै रिमिक्स हो, तर मनलाग्दी नयाँ संगीत र स्वरूप दिइनु भने राम्रो होइन ।’ गीतलाई नयाँ स्वरुप दिँदा केही शब्द तलमाथि हुनु सामान्य भए पनि पूरै गीतको ढाँचा नै परिवर्तन गर्दा त्यसको प्रभाव नकारात्मक हुने उहाँको ठम्याइ छ । पुराना संगीतलाई सबैले सम्मान गर्नु आजको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ । मौलिक गीतलाई नबंग्याई तीनमा नयाँ सर्जकले त्यसको जगेर्ना गर्नु नै आजको आवश्यकता रहेको नेपाली गीतका विश्लेषक बताउँछन् ।

प्रतिक्रिया