अमेरिकीको औसत आयु घट्यो

एजेन्सी, टाम्पा । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यस वर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।

सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्या ३ दशमलव ७ प्रतिशत बढेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयु सन् २०१६ को तुलनामा शून्य दशमलव १ ले कमी आएको छ अर्थात् औसत आयु ७८ दशमलव ६ वर्ष भएको छ । अमेरिकामा पछिल्ला वर्षहरूमा अफिमको प्रयोग बढेको, दुखाइ कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइलजस्ता लागू पदार्थको प्रयोग बढेको छ ।

एक दशकपछि सन् २०१५ मा अमेरिकी औसत आयुमा पहिलोपटक कमी आएको थियो, र यसको प्रमुख कारणमा औषधिको अतिरिक्त प्रयोग (ओभरडोज) मानिएको छ । समग्रमा, सन् २०१४ देखि नै औसत आयु घट्ने प्रवृत्ति रहेको तथ्यांकले पुष्टि गरेको छ । राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयुमा शून्य दशमलब ३ प्रतिशतले कमी आइसकेको छ ।

‘औसत आयु घट्दो क्रममा रहेकाले हामीलाई चिन्ता लागेको छ,’ एन्डरसनले बताए । यस किसिमको प्रवृत्ति सन् १९१८ को विनाशकारी फ्लु र पहिलो विश्वयुद्धमा पनि देखिएको थिएन । ‘हामी विकसित मुलुक हौँ, हामीसँग धेरै स्रोतसाधन पनि छ, र हाम्रो बढ्दो औसत आयु हुनुपर्ने हो, तर परिस्थिति भिन्न हुँदै गएको छ ।’

सिडिसीको सन् १९९९–२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट भएको मृत्युको विश्लेषणले सन् २०१७ मा मात्र ७० हजार २ सय ३७ जनाको औषधिको ओभरडोजकै कारण मृत्यु भएको छ । अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ । सन् २०१६ मा सन् २०१५ को तुलनामा २१ दशमलव ६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण भएको छ ।

प्रतिक्रिया