विद्यार्थीद्धारा प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस

ममता भट्ट, डडेल्धुरा । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्वद्ध नेविसंघ डडेल्धुरा र डडेल्धुरा बहुमुखी क्याम्पसको स्ववियुले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य डम्बरराज जोशी, नेविसंघ डडेल्धुराका कार्यवाहक अध्यक्ष रमेशप्रसाद भट्ट र डडेल्धुरा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जगत ऐरद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुधबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीलाई बुझाइएको हो ।

ज्ञापनपत्र बुझाउँदै उनीहरूले जिल्लाका स्थानीय निकायका यातायात रुटहरूको भाडा दर एक हप्ताभित्र निर्धारण गरिनुपर्ने, गत मंसिर ६ मा भएको रडुवा बस दुर्घटनाका घाइतेहरूलाई आजकै मितिबाट निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने र उच्चस्तरीय छानविन समिति गठन गरी बस दुर्घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीमाथि यथाशीघ्र कारबाही गर्नुका साथै मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरा, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय धनगढी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडांै समेतलाई बोधार्थ दिई पठाएको ज्ञापनपत्रमार्फत यातायात व्यवसायीहरूले ग्रामीण रुटहरूमा मनोमानी रूपमा गाडीभाडा असुल गरिरहेकाले सोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

गत ६ मंसिरका दिन अमरगढी नगरपालिका–११ स्थित रडुवा खोलमा भएको दुःखद् बस दुर्घटनाका घाइतेहरूलाई निःशुल्क रूपमा स्वास्थ्य उपचार गराउने प्रतिवद्धता विभिन्न व्यक्ति, राजनीतिज्ञ, प्रदेश सरकार तथा संघीय सरकारबाट मिडियामा मात्र प्रचारप्रसार गरी लोकप्रियता मात्र कमाउने काम गरिएको तर घाइतेहरूले अस्पतालको शैय्यामा बसेर जीवन जिउनका लागि संघर्षरत रहँदा कुनै पनि सहयोग नपाएको बताइँरहदा हामी विद्यार्थीहरू निकै स्तब्ध भएका छौँ’, ज्ञापनपत्रमा भनिएको छ ।

साथै आफूहरूको माग यथाशीघ्र सम्बोधन नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्नुका साथै सोबाट उत्पन्न परिस्थितिको सामना गर्नसमेत सम्बन्धित निकायलाई चेतावनी दिइएको छ ।

पेस गरिएको ज्ञापनपत्र बुझ्दै प्रजिअ जोशीले मनोमानी रूपमा भाडा असुली भइरहेको जनगुनासो बढेसँगै यातायात समितिहरूसँग आवश्यक छलफल र समन्वय भइरहेको बताउँदै दुर्घटनामा परी घाइते भएका व्यक्तिहरूको उपचारलाई सहज पारिरहेको बताए । साथै पेस गरिएको ज्ञापनपत्र सम्बन्धित निकायमा आजै पठाउने आश्वासन दिँदै माग सम्बोधन हुनेमा ढुक्क रहन आग्रहसमेत गरे ।

दुर्घटनामा परी घाइते भएका २७ जना मध्ये हाल दुई जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरा, नौ जनाको कैलालीस्थित सेती अञ्चल अस्पताल र माया मेट्रो हस्पिटल तथा सात जनाको काठमाडौंमा उपचार भइरहेको छ । बाँकी सबै उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया