किसानलाई धान थन्क्याउन भ्याइनभ्याई

ताप्लेजुङ । जिल्लाका कृषक धान थन्क्याउन व्यस्त छन् । अधिकांश ठाउँमा धान काटेर सकिएको र अहिले खलो ९धान झार्न र पराल दाइँ गर्न खेतलाई सफा गरेर बनाइएको स्थल० मा भेला गरेर झार्ने, दाइँ गर्ने कार्य भइरहेको कृषकहरुको भनाई छ । ‘काटेर सकियो, सुकेको धानको बोटलाई भेला गरेर बिटा बाँध्ने, खलामा जम्मा गरेर धान झार्ने अनि पराललाई दाइँ गर्ने कार्य भइरहेको छ,’ फुङलिङ नगरपालिका–२ का कृषक कृष्णप्रसाद पालुंवाले भने ।

यस वर्ष गत वर्षभन्दा राम्रो धान फलेको कृषकहरू बताउँछन् । पानी पर्याप्त परेर समयमै रोप्न पाएको र रोग नलागेको हुँदा धान राम्रो फलेको मेरिङ्देन गाउँपालिकाका कृषक हर्क लिम्बुले बताए । हिमाली जिल्लामा असोज अन्तिमदेखि मंसिरभरि नै कृषकहरू धान थन्क्याउने काममा व्यस्त रहन्छन् । कृषकहरूले धान उत्पादनमा वृद्धि हुने बताए पनि जिल्लामा धानको यसवर्षको आधिकारिक तथ्यांक दिने निकाय छैन । विगतमा कृषि कार्यालयले कृषिसम्बन्धी सबै तथ्यांक संकलन गरेर राख्ने गरेको थियो । अहिले कृषि कार्यालय खारेज भएको छ ।

तत्कालीन कृषि कार्यालयको आव ०७४÷७५ को तथ्यांक अनुसार जिल्लामा १७ हजार टन धान उत्पादन भएको थियो । ‘सिञ्चित क्षेत्रमा नौ हजार, असिञ्चितमा आठ हजार र चैते धान वार्षिक दुई सय टन उत्पादन भयो, मूल्यका हिसाबले यो ७५ करोड रुपैयाँ हाराहारीमा हुन आउँछ,’ कृषि कार्यालयको पुस्तकमा उल्लेख छ । ६१ वडा रहेको ताप्लेजुङमा फक्ताङलुङ–७ बाहेक सबैमा धानखेती हुने गरेको छ ।

सिरिजंघा गाउँपालिका–१ सिनाम र २ आम्बेगुदिन, पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिन, फुङलिङ नगरपालिका वडा नं १, २, ३, ८ र ९ को तल्लो क्षेत्र, मिक्वा खोला गाउँपालिका वडा नं १ र २ तथा आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन बढी धान उत्पादन हुने क्षेत्र हुन् । १ लाख २७ हजार जनसंख्या रहेको ताप्लेजुङमा यहाँ उत्पादित धानले ६ महिना पनि खान नपुग्ने कृषि कार्यालयको गत वर्षको तथ्यांकमा उल्लेख छ । धान उत्पादन वृद्धि गर्नका लागि स्थानीयतहले पनि आफ्नो नीति तथा कार्यक्रममा प्रभावकारी योजना समेटेका छैनन् ।

प्रतिक्रिया