यसरि भयो, ८ वर्षीय प्रयास कुँवरको हत्या

काठमाडौं । गोंगबुको स्वस्तिका त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रवीण कुँवरका ८ वर्षीय छोरा प्रयास मंगलबार साँझबाट हराए । बेलमन इन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्ययनरत प्रयास उक्त दिन तीन बजे स्कुलबाट घर आइपुगेका थिए ।

साँझतिर प्रवीण र आमा दुवै नियमित स्वास्थ्य जाँचका लागि निस्कनेबित्तिकै उनका छोरा हराएका थिए । साँझ साढे ६ बजेतिर होटल फर्कंदा छोरा होटलमा नभएपछि सोधखोज सुरु गरेका थिए । सो समयमा एक महिनाअघि मात्र होटलको गाडीको चालकका रूपमा काम गर्न आएका स्याङ्जाका महेन्द्र एसके पनि थिएनन् ।

त्यसपछि उनीहरूले चालक महेन्द्रलाई फोन गरी सोधे । तत्काल सम्पर्कमा नआएका चालक महेन्द्रलाई ७ बजेर ४९ मिनेटमा मात्र फोन लागेको थियो । उनले बालक आफूसँग नभएको बताएपछि आत्तिएका प्रवीणले प्रहरीमा खबर गरे ।

त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा महेन्द्रले पनि प्रहरी सँगसँगै बसेर २ दिनसम्म सघाएका थिए । यद्यपि सुरुमै प्रहरीले महेन्द्रसँग सोधपुछ गरेको थियो । तर, उनको बयान र मोबाइलको लोकेसन फरक–फरक भएपछि प्रहरीले उनीप्रति नै शंका गरेको थियो ।

अपराध महाशाखाको टोलीले उनले बताएका तथ्य र उनको मोबाइल लोकेसन लगायतका विषयमा भिन्नता पाएपछि कडाइका साथ सोधपुछ गरेको थियो ।

महाशाखाले उनको मोबाइल लोकेसनअनुसार अनुसन्धान गर्दा उनी नागार्जुन जंगलमा गएको र फिर्ता भएर म्हैपीमा आएको देखियो । प्रहरीले बिहीबार बिहान केरकार गरेपछि उनले बालक आफैँले अपहरण गरेको र सोही हत्या गरी शव फालेको बयान दिए । बयानमा उनले हत्या गरेर झोलामा प्रयासको शव राखेर म्हैपीको खोलामा फालेको बयान दिए । महेन्द्रको बयानअनुसार प्रहरीले बिहीबार अपराह्न सो स्थानबाट बालकको शव निकाल्यो ।

महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले महेन्द्रको लापरबाहीले आजित भएका प्रवीणले उनलाई जागिरबाट निकालिदिने धम्की दिएको कारणसमेत बालकको हत्या भएको हुनसक्ने बताए । उनका अनुसार गोंगबु क्षेत्रका अन्य होटलमा समेत काम गरिसकेका महेन्द्रले आपूmखुसी गाडी लैजाने र भनेअनुसार नगर्दा प्रवीण र उनीबीच विवाद उत्पन्न भएको थियो ।

‘बालक समेतसँग आरोपीको राम्रो सम्बन्ध थिएन । घटनाका दिन चकलेट खान दिएर फकाएका थिए,’ एसएसपी सिंहले भने, ‘बिहीबार बिहानसम्म त हामीलाई नै सहयोग गरेको नाटक गरिरहेका थिए ।’ प्रहरी बयानमा महेन्द्रले घटनाका दिन बिहानदेखि नै योजना बनाएको खुलाएका छन् । उनले बालकको हत्यागरी बाबुसँग बदला लिने मनसाय राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

कात्तिक १० गतेदेखि प्रवीणको गेस्ट हाउसमा मासिक १४ हजार रुपैयाँ तलबमा गाडी चलाउँदै आएका महेन्द्रले सेवा सुविधा बढाइदिन मागसमेत गरेका थिए । उनले अपहरण गरेका बालकलाई गाडीमै राखी मित्रनगरस्थित डिआर फेन्सी स्टोर्सबाट जेब्रा झोला र नजिकैको अर्को पसलबाट दुईवटा प्लास्टिकका झोलासमेत खरिद गरी लगेका थिए ।

त्यसपछि उनले नागार्जुनको जंगलमा लगी गाडीभित्र नै बालकको नाक, मुख र घाँटी थिचेर हत्या गरेको र प्लास्टिकमा पोको पारेर जेब्रा झोलामा हाली म्हैपीस्थित खोलामा फालेको बयान दिएको प्रहरीले जनाएको छ । यद्यपि, उनले घटनामा आपूm मात्रै संलग्न रहेको वा अन्य पनि रहेको भन्ने बारेमा केही नखुलाएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले महेन्द्रमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया