महले पाएन बजार

दार्चुला । दार्चुलामा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएपनि महको बजार घट्दै गएको छ । जिल्लाका लेकम, मालिकार्जुन, मार्मा र ब्यास गाउँपालिकामा मौरीपालन व्यवसाय फस्टाउँदै गएको तर बजार घट्दै गएको मौरिपालक व्यवसायीले गुनासो गरेका छन । उत्पादन भएका मौरी घार तथा मह बिक्रीको लागि बजार अभाव भएको व्यावसायिक मौरीपालक कृषक लेकम– १ का गणेशसिंह कार्कीले बताए । ‘सडक सञ्जाल पुगेको छैन्, गाउँबाट आफै मह बोकेर डुल्नुपर्ने अवस्था आएको छ ।’

गाउँ÷गाउँमा मह खोज्छन् तर घरमै आएर किन्नको लागि बाटो छैन् । अहिले मह र मौरी बिक्री गर्न दार्चुलामा मात्र नभएर बैतडीसम्म पुग्नुपर्ने अवस्था छ । कृषक कार्कीले भने ‘घरमा मौरी स्याहार गर्ने कि उत्पादित मह बिक्री वितरण गर्ने समस्या भएको छ ।’ घरमा ठाउँ नभएकाले खेतभरी ७५ माहुरी घार छन् । बिहानदेखि बेलुकीसम्म दैनिकी मौरीको स्याहार गर्नमै बित्छ । हालसम्म दुई क्वीन्टल मह बिक्री भयो कार्कीले भने, ‘अंझै मह बिक्री गर्न बाँकी छ, बजार नहुँदा समयमै मह बिक्री गर्न सकिँदैन ।’

गाउँमै मह अहिले ८ सय देखि ८ सय ५० प्रतिकिलो बिक्री हुने गर्छ । मौरीबाटै वार्षिक १० लाखसम्म आम्दानी हुने गरेको कार्कीले बताए । बजारको समस्याले मौरीपालन व्यवसायमा समस्या भइरहेको अर्का व्यवसायी मालिकार्जुन– १ का गौरसिंह बोहराले बताए । विगतमा गैरसरकारी संघ संस्थाले मौरीको घार र मौरी खरीद गर्थे ।

अहिले त्यस्ता संस्थाबाट पनि माग आउन छाडेको छ । घरमै वार्षिक ५०/६० घार मात्रै बिक्री हुन्छ । अरुण आधुनिक माहुरी घार उद्योग दर्ता गरेर उनले अहिले ८२ घार मौरीपालन गरेका छन । त्यसबाट आम्दानी भए पनि बजार नहुँदा समस्या भइरहेको उनले दुखेसो पोखे । ‘सबैले मौरीपालन थालेका छन्, सीमा क्षेत्रकाले अहिले भारतीय बजारमा गएर मह बिक्री गर्नुपर्ने बाध्यता आएको छ’, बोहराको भनाइ छ ।

मार्मा गाउँपालिका–६ का मौरी व्यवसायी नारद महरा मह बिक्रीको लागि मार्मा बजार मात्रै भएको बताए । ‘सानो बजार छ, बाह्य क्षेत्रमा ढुवानी गर्न सके महको मूल्य पाइने थियो’, उनले भने । मार्माकै हरकसिंह सितोली मौरीपालन व्यवसाय शुरु गर्ने तयारी रहेको बताउँछन् । ‘मसँग अहिले १० घार माहुरी छन्, एक महीनाभित्र १५ घार थप गर्ने तयारीमा छु’, उनले भने । स्थानीय सरकारले सहयोग गरे व्यवसायको रूपमा दर्ता गरेर जाने उनको भनाइ थियो ।

घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका अनुसार अहिले जिल्लाभरी १२ मौरी उद्योग दर्ता भएका छन । यो बाहेक अधिकांश कृषकले मौरी व्यवसायको रूपमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेका छन् । व्यवसायबाट राम्रो रोजगारी र आम्दानी हुन थालेपछि किसान व्यावसायिक रूपमै यसतर्फ लागेका वरिष्ठ उद्योग अधिकृत पदम ठकुराठीले बताए । उनले भने, ‘स्थानीय सरकारले तालीम प्रवद्र्धनको साथै बजारीकरणमा ध्यान दिन सके दार्चुलाको महले राम्रो बजार पाउन सक्नेछ ।’

हजारौँ टन जिल्लामै मह उत्पादन हुन्छ, उद्योग अधिकृत ठकुराठीले भने, ‘सानातिना व्यवसाय दर्ता भएका छैनन । उनीहरूको लागि मह बिक्री गर्ने बजार भए अझै यो व्यवसाय जिल्लामा फस्टाउँछ ।’ मौरीको लागि चाहिने फूल तथा मौसम दार्चुलामा राम्रो रहेको उनको भनाइ छ ।

प्रतिक्रिया