जडीबुटी निकासीमा सरकार उदासिनः व्यवसायी

बाँके । सरकारले जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको जनाइरहँदा सरकारी उदासीनताकै कारण भारततर्फ जडिबुटी निर्यातमा समस्या हुने गरेको व्यवसायीको गुनासो रहेको छ । नेपालगञ्ज हुँदै भारतको उत्तर प्रदेशबाट निर्यात हुने जडिबुटीमा ट्रान्जिट पर्मिटका नाममा अनावश्यक झमेला गरी समस्या हुने गरेको व्यापारीको भनाइ छ ।

जडीबुटी व्यवसायी संघका अनुसार भारतको उत्तर प्रदेशको वन विभागले लगाएको ट्रान्जिट पर्मिटको झमेलाका साथै कस्टम, खाद्य प्रयोगशाला, प्लान्ट क्वारेन्टाइनलगायत चेकजाँचका नाममा व्यवसायीलाई समस्यामा पार्ने काम भएको छ । ‘रूपैडिहा नाकाबाट २० वर्षदेखि ट्रान्जिट पर्मिटको सास्ती खेप्दै आएका व्यवसायी अहिले चेकजाँचका नाममा विभिन्न सास्ती खेप्न बाध्य छन्,’ संघका कार्यालय प्रमुख पुस्कर खरेलले भने ।

खरेलका अनुसार रुपैडिहा नाकाबाट निर्यात गर्न विभिन्न झमेला हुने गरे पनि भारतको उत्तर प्रदेशअन्तगर्तकै सुनौली नाकामा सहज हुने गरेको छ । जसका कारण नेपालगञ्जका धेरै व्यवसायी सुनौली नाका हुँदै निर्यात गर्न थालेका छन् ।

व्यवसायीका अनुसार भारतले अनावश्यक चेकजाँचलगायत निकासी प्रक्रियाका नाममा सास्ती दिँदा जडीबुटी ढुवानी गरेको सवारी साधन सातादेखि महिना दिनसम्म बीच बाटोमै रोकिने गरेका छन् ।

जडिबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारी भन्ने भारततर्फ जडिबुटी निकासीमा देखिएको समस्या समाधानका लागि विभिन्न निकायमा अनुरोध गर्दा पनि सुनुवाइ नभएको बताए ।

प्रदेश–५ को सांसदसमेत रहेका अन्सारीले भारतले अव्यावहारिक नीति, नियम लगाए पनि व्यवसायीका समस्या समाधान गर्न सरकारले कुनै चासो नदिएको बताए । ‘सरकार एकातिर जडीबुटी व्यवसायलाई प्रोत्साहन गर्ने नीति रहेको भन्छ,’ अध्यक्ष अन्सारीले भने, ‘अर्कोतर्फ सरकारी उदासीनताकै कारण भारततर्फ जडीबुटी निर्यातमा निकै समस्या छ ।’

नेपालबाट रुपैडिया नाका हुँदै भारत निर्यात हुने जडिबुटीको मात्रा बर्सेनि घट्दै गएको छ । भारततर्फ जडीबुटी निकासीका लागि ट्रान्जिट पर्मिटका नाममा अनावश्यक झमेला हुन थालेपछि निकासी घटेको हो ।

नेपाल जडिबुटी व्यवसायी संघ केन्द्रीय कार्यालय नेपालगञ्जका अनुसार भारतको उत्तर प्रदेशको वन विभागले लगाएको ट्रान्जिट पर्मिटको झमेलाका साथै कस्टम, खाद्य प्रयोगशाला, प्लान्ट क्वारेन्टाइनलगायत चेकजाँचका नाममा व्यवसायीलाई समस्या भएपछि रुपैडियाबाट निकासीको मात्रा घटेको हो ।

एक दशकअघिसम्म वार्षिक ७० लाख किलो जडिबुटी यस नाकाबाट भारत निकासी हुने गरेकोमा हाल ज्यादै न्यून मात्र निर्यात हुने गरेको संघको तथ्यांकले देखाउँछ ।

विगत तीन वर्षको तथ्यांक हेर्ने हो भने आव ०७२÷७३ मा ४६ लाख ३८ हजार २ सय १५ किलो जडीबुटी निकासी भएकोमा ०७३÷७४ मा ४० लाख ५० हजार ६ सय ७४ किलो निकासी भएको छ । त्यस्तै ०७४÷७५ मा निकासी दर घटेर २७ लाख ५४ हजार २ सय किलो मात्र जडीबुटी निकासी भएको नेपाल जडीबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुस्कर खरेलले जानकारी दिए ।

यस आवमा भने भर्खरै मात्र खरिद कार्य सुरु भएको छ । यतिवेला भारतमा जडिबुटीको मूल्य घटेका कारण नेपालको जडिबुटीले मूल्य नपाएको उनको भनाइ छ । ‘गतवर्ष १ हजार २ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको टिमुर यसवर्ष ५ सयमा बिक्री हुन सकेको छैन,’ प्रमुख खरेलले भने ।

रुपैडिया नाका हुँदै भारततर्फ निकासी हुने जडिबुटीमा सबैभन्दा बढी रिठा, तेजपात, काउलोबोक्रा, चिराइतो, दालचिनी, कुरिलो, पाखनवेद, अमला, चुत्रो बोक्रा, टिमुरलगायतका जडिबुटी निर्यात हुने गरेको बताइएको छ ।

जडीबुटी खेती प्रवद्र्धनका लागि जिआइजेटको सहयोगमा पश्चिम नेपालको ६ वटा जिल्लामा विभिन्न सहयोग गरेर व्यावसायिक जडीबुटीको खेती गरिएको छ । संघको समन्वयमा सुर्खेत दाङ र प्युठानमा तेजपात, टिमुर र च्युरी खेती थालिएको छ भने बाँके, कैलाली र कञ्चनपुरमा मेन्था, कुरिलो र केमामाइल खेती भइरहेको छ ।

प्रतिक्रिया