सिसी क्यामेराको मर्मत सुरु

पर्वत । सुरक्षालाई बलियो बनाउन चार वर्षअघि जडान गरिएका सिसी क्यामेराहरू बिग्रँदै जाँदा सुरक्षा चुनौती बढेपछि कुश्मा बजारमा जडान गरिएका सिसी क्यामेरा मर्मत गर्न सुरु भएको छ ।

कुश्मा नगरपालिका र पर्वत उद्योग वाणिज्य संघको लगानीमा क्यामेरामर्मत गर्न सुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । कुश्माका मुख्यमुख्य चोकमा २९ ओटा सिसी क्यामेरा जडान गरिएको भए पनि पछिल्लो समयमा आठ ओटा क्यामेरा मात्र सञ्चालनमा रहेका थिए ।

प्रहरी नायव उपरीक्षक तिवारीका अनुसार तिहार अगाडिबाट मर्मत सुरु गरिएकोमा अहिलेसम्म १९ ओटा क्यामेरा सुचारु भइसकेका छन् । अब चल्नेलाई मर्मत गरिने र मर्मत नहुनेको ठाउँमा नयाँ थपिने डिएसपी तिवारीको भनाइ छ । समयसमयमा क्यामेराहरू बिग्रने गरेका कारण अब भने निरन्तर चलाउनका लागि जिल्ला प्रहरी कार्यालयमा ‘पावर ब्याक अप’ राखेर क्यामेरा चलाउनेगरी काम भइरहेको छ ।

नेपालकै अग्ला र लामा झोलुंगे पुल आसपासको क्षेत्रमा आत्महत्या लगायतका अन्य आपराधिक घट्ना बढ्दै गएका कारण यसपटक भने ती पुलहरू रहेको स्थानमा पनि सिसी क्यामेरा राख्ने तयारी गरिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताए । उनका अनुसार बिग्रिएका क्यमेरा मर्मत र नयाँ थप गर्नका लागि आवश्यक रकम कुश्मा नगरपालिका र उद्योग बाणिज्य संघले बेहोर्नेछन् ।

कुश्मामा बैंक तथा वित्तीय संस्थाहरू, सहकारी संस्थाहरू, व्यवसायी तथा स्थानीय बासिन्दाको सहयोगमा चार वर्ष अगाडि झन्डै ३० लाखको लगानीमा क्यामेराहरू जडान गरिएको थियो । क्यामेराको जिम्मा लिएको कुश्मा नगरपालिकाले लामो समयसम्म मर्मत नगर्दा अहिलेसम्म जिल्ला प्रहरी कार्यालयले विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहकार्य गरेर मर्मत गर्दै आएको थियो ।

प्रतिक्रिया