चलचित्रमा वैदेशिक रोजगारी

काठमाडौं । वैदेशिक रोजगारी, सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र ‘शान्ति’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । दिनेश लिङ्देनले निर्देशन गरेको उक्त चलचित्र फाल्गुनन्द लिङ्देन फिल्मस्को ब्यानरमा निर्माण भएको हो । निर्देशक लिङ्देनको लेखन रहेको यस चलचित्रले वैदेशिक रोजगारमा रहेका नेपालीको यथार्थ कथालाई चित्रण गरेको जनाइएको छ ।

वैदेशिक रोजगारीले निम्ताएको पारिवारिक समस्या र नारीको संवेदनशीलता जस्ता विषयलाई चलचित्रले उठान गरेको निर्देशक लिङ्देनले बताए । उनले भने, ‘फिल्म सरल र शिष्ट शैलीमा निर्माण गरेका छौं । समाजको कथालाई हामीले फिल्ममार्फत देखाएका छौं । फिल्म एक वर्ष अघि नै निर्माण गरिएको हो । तर केही प्राविधिक कारणले यसपटक रिलिजको माहोल बन्यो ।’

चलचित्रका नवनायक सन्जिव थेवेले पहिलोपटक चलचित्रमा काम गर्दा आफूलाई केही गाह्रो भएको अनुभव सुनाए । त्यस्तै नवनायिका सुप्रिया श्रेष्ठले चलचित्रको कथावस्तुले आफूलाई लोभ्याएको जिकिर गरिन् । विकास चौधरीले आफूले पहिलोपटक यसै चलचित्रबाट पाश्र्वगायन सुरु गरेको बताए । यस चलचित्रका दुई गीतमा विकासकै स्वर छ ।

चलचित्रमा सुशिल क्षेत्री, सुप्रिया श्रेष्ठ, निशा पोमु, सन्जिव थेवे, सुदिता लिङदेन, बालदिप राई, शर्मिला शर्मा, खुस्बु चेम्जोङ, अजय खडका, प्रदिप योङहाङ, महेन्द्रकुमार राई, सुमित्रा अधिकारी लगायतका कलाकारको अभिनय छ ।
कविता राई लिङ्देन प्रस्तुतकर्ता, वसन्त थवबे कार्यकारी निर्माता र शान्ता बखिम थेवे निर्माता रहेको चलचित्रमा विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द्व, रोशन वान्तवा राईको पाश्र्व संगीत, ज्ञानु राईको छायांकन र मेगबहादुर मगरको सम्पादन छ ।

पूर्व ‘मिस लिम्बु’ निशा पोमु र सन्जिब तथा सुप्रियाको यो ‘डेब्यु’ फिल्म हो । चलचित्र काभे्र, सिन्धुली तथा नुवाकोटमा छायांकन गरिएको निर्देशक लिङ्देनले जानकारी दिए ।

प्रतिक्रिया