उवासंघलाई चुनावी चटारो

प्युठान । प्युठान उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्यानल घोषणा गर्दै दुई पक्षले निर्वाचन प्रचारप्रसार थालेका छन् ।

वामगठबन्धन तर्फका व्यवसायी र नेपाली कांग्रेसका ब्यवसायीले छुट्टाछुट्टै प्यानल बनाई आआफ्नो चुनावी प्रसार थालेका हुन् । बुधबार बिहान बाग्दुलामा बामगठबन्धनले आफ्नो गठबन्धन समूहको प्यानल सार्वजनिक गरेपछि कांग्रेस निकट व्यवसायीले पनि बुधबार बिजुवारको जुम्रीमा प्यानल घोषणा गरेका हुन् ।

वाम गठबन्धनको तर्फबाट जिल्लाका प्रतिष्ठित व्यवसायी केदारमान कक्षपतिको अध्यक्षतामा आफ्ना उम्मेदवार सार्वजनिक गरेको हो । वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर केसी, वाणिज्य उपाध्यक्षमा दुर्गा भुसाल, उद्योग उपाध्यक्षमा मुक्ति पोख्रेल, महासचिवमा कृष्णभक्त गिरी, उपमहासचिवमा पदमबहादुर खड्का र कोषाध्यक्षमा सुरेन्द्रबहादुर जिसी वाम गठबन्धनको प्यानलमा रहेका छन् । कार्यक्रममा उम्मेदवारी घोषणासँगै भावी कार्यक्रमबारे पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी काग्रेस निकटका व्यवसायीहरूले पनि प्रमोद पोख्रेलको अध्यक्षमा प्यानल घोषणा गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र पौडेल, प्रथम उपाध्यक्षमा केशव पण्डित, महासचिवमा दधिराम भण्डारी, कोषाध्यक्षमा सनत श्रेष्ठ सहितको प्यानल घोषणा गरेका छन् । यिनीहरूले उद्योग उपाध्यक्ष र उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका छैनन् । पत्रकार सम्मेलन गर्दै पोख्रेलले आफूहरू अन्तिम अवस्थासम्म पनि सबै मिलेर उद्योग वाणिज्य संघमा जानुपर्ने बताउँदै आए पनि वामगठबन्धन तर्फका व्यवसायीहरूले एकतर्फी प्यानल घोषणा गरेको बताए ।

संयुक्त वामगठबन्धनका उम्मेदवारहरूले आपूmले निर्वाचनमा सफल भएपछि गर्ने काम बारेमा पत्रकारलाई जानकारी गराएका थिए । उनीहरूले जिल्लाको बजार व्यवस्थापन, नौ वटा स्थानीय तहमा सचिवालय निर्माण, ठाउँठाउँमा उपबजार बनाउने, उद्देश्य लक्षित महोत्सव लगाउने, स्वर्गद्वारी एयरपोर्ट निर्माण गर्नेजस्ता प्रतिबद्धताहरू पत्रकारसमक्ष बताएका थिए ।

अब आउने नेतृत्वले भिग्रीमा बनेको धर्मशालाको स्तरोन्नति, सदरमुकाम खंलगालाई गुञ्जायमान बनाउन पहलकदमी अगाडि बढाउनुपर्ने संघका वर्तमान अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । उनका अनुसार जिल्लामा सहिद स्मृति पार्क निर्माण गर्नका लागि डिपिआर रिपोर्ट आउन बाँकी रहेको र आएसँगै यसको काम अगाडि बढाउनुपर्ने बताए ।

त्यस्तै कांग्रेस निकट प्यानलले १५ बुँदामा आफ्नो प्रतिवद्धता व्यक्त गरेको छ । उनीहरूले बजार तथा व्यापार विशिष्टीकरण गर्ने, उद्योगी व्यपारीको हकहितको संरक्षण र प्रवद्र्धन गर्ने, उद्योग मैत्री वातावरण सिर्जना गर्ने, हाटबजार सञ्चालन लगायतका प्रतिवद्धता व्यक्त गरेको हो ।

हाल प्युठान उद्योग वाणिज्य संघको बजार इलाकाको निर्वाचन चलेको छ । हालसम्म जिल्लाका चार वटा बजार इलाकाको निर्वाचन सम्पन्न भइसकेको संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले जानकारी दिए । १७ मंसिरसम्म बजार इलाकाको निर्वाचन सकिने उनले बताए । २९ मंसिरमा हुने संघको १०औँ जिल्ला अधिवेशनका लागि बस्तुगत र एसोसियट सदस्य निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया