पुल्चोक वितरण केन्द्रले ६ लाख बक्यौता उठायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण पुल्चोक वितरण केन्द्रले पछिल्लो दुई दिनमा ३ लाख ४२ हजार १ सय ९६ बराबरको बक्यौता असुल गरेको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार प्राधिकरणले यही मंसिर ८ गतेदेखि १० गतेसम्म सो वितरण केन्द्रअन्तर्गत रहेका बक्यौता नतिर्ने १० ग्राहकको लाइन काटी उक्त परिमाणको रकम असुली गरेको हो । विशेष गरी सहरी तथा सुगम क्षेत्रमा नै विद्युत् महसुल बक्यौता राख्ने र भुक्तानी गर्न अटेर गर्ने प्रवृत्ति बढेपछि प्राधिकरणले लाइन काटन थालेको जनाएको छ ।

यस्तै, सोही वितरण केन्द्रले यही मंसिर ४ गतेदेखि ७ गतेसम्म २० ग्राहकको लाइन काटी दुई लाख ६० हजार ८ सय १६ बराबरको बक्यौता असुल गरेको छ । नियमित रूपमा महसुल नतिर्ने ग्राहकलाई पहिलो चरणमा जानकारी दिने र सचेत गराउने गरिएको जानकारी दिँदै प्राधिकरणले अटेर गर्ने ग्राहकको भने लाइन काट्न थालेको हो । यस्तै विद्युत् चोरी तथा चुहावट नियन्त्रणमा समेत प्राधिकरणले अभियानात्मक रूपमा नै प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया