विमललाई विकल वाङ्मय पुरस्कार

काठमाडौं । नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान दिएका स्रष्टा डा. राजेन्द्र विमललाई २०७४ सालको ‘रमेश विकल वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ । लामो समयदेखि नेपाली साहित्यका क्षेत्रमा क्रियाशील कथाकार विमलले मैथिली कला, संस्कृति तथा साहित्यमा समेत महत्वपूर्ण योगदान दिएका छन् । त्यस्तै, हालसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ ।

यसैगरी वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।

सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय संगीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल संगीत पुरस्कार’ प्रदान गरिनेछ । प्रतिष्ठान कार्य समितिका सदस्य मातृका पोखरेलको संयोजकत्वमा साहित्यकारद्वय प्रह्लाद पोखे्रल र सीता भट्टराई सदस्य रहेको सिफारिस समितिको छनोटलाई प्रतिष्ठानले अनुमोदन गरी पुरस्कारको घोषणा गरेको हो ।

आगामी पुस १४ गते प्रतिष्ठानकै नवनिर्मित भवनमा साहित्यकारलाई पुरस्कृत गरिनेछ । त्यसैदिन विकल स्मृतिसभासँगै भवन उद्घाटन गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया