डा. पौडेलका ७ कृति सार्वजनिक

                                                    डा. हेमनाथ पौडेल

काठमाडौं । प्रगतिवादी स्रष्टा डा. हेमनाथ पौडेलले एकैपटक सात कृति बजारमा ल्याएका छन् । डा. पौडेलले संस्मरण, समालोचना, निबन्ध, समीक्षा र भूमिका लगायतका विविध विधामा लेखेका सातवटा पुस्तक सार्वजनिक गरेका हुन् ।  नेपाली साहित्यमा चार दशकभन्दा लामो समयदेखि निरन्तर क्रियाशील पौडेलले प्रगतिवादी कविताका विषयमा विद्यावारिधि गरेका छन् । समाजको यथार्थ पक्षलाई वाङ्मयमा उतार्ने पौडेलका ‘प्रगतिवाद र कविता मान्यता’, ‘कविता समालोचना’, ‘नेपाली प्रगतिवादी कविताः इतिहास र प्रवृत्ति’, ‘समीक्षा र भूमिका’, ‘पारिभाषिक शब्द परिचय’, ‘चिन्तन र संस्मरण’ र ‘ताप्लेजुङतिर प्रचलित लोकगीति नृत्य धाननाच’ पुस्तक एकैसाथ प्रकाशित भएका छन् ।

उनी नेपालीको सामाजिक यथार्थ, सांस्कृतिक वैभवता, राजनीतिक तथा प्राकृतिक सौन्दर्यलाई लेखनमा रुचि राख्छन् । प्रकाशित कृति पैरवी प्रकाशन, तन्नेरी प्रकाशन, विवेक सिर्जनशील प्रकाशन र नेपाल सङ्गीत तथा नाट्य गीत प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेका हुन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक कार्यकाल प्राज्ञसभा सदस्यसमेत भइसकेका डा. पौडेलका यसअघि ‘भाषा साहित्यका दुई हस्ती’, ‘कृष्णमणि साहित्य पुरस्कारद्वारा सम्मानित स्रष्टाहरू’, ‘प्रगतिवादी दृष्टिमा कवि र कविता’, ‘सन्दर्भपरक समालोचना’ तथा ‘भाषाविज्ञान र नेपालका भाषाहरू’ शीर्षकका जीवनी तथा समालोचनाका पाँच कृति निस्किसकेका छन् । त्यस्तै, उनले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘प्रज्ञा निबन्ध संग्रह’ र ‘समकालीन कविता विमर्श’ तथा गोरखापत्र संस्थानबाट प्रकाशित ‘मधुपर्क प्रतिनिधि हास्यव्यंग्य निबन्ध संग्रह’को समेत सम्पादन गरेका छन् ।

त्यसैगरी ‘कृति र स्मृतिमा डा. बल्लभमणि दाहाल’, ‘रमेश विकलः विम्ब एक प्रतिविम्ब अनेक’, ‘जनकप्रसाद हुमागाईंः स्रष्टा एक द्रष्टा अनेक’, ‘देवीप्रसाद उप्रेतीका कविता’, ‘स्मृतिका पानामा सूर्य कन्दङ्वा’, ‘स्मृतिमा रुद्र खरेल’ र ‘देवीप्रसाद उप्रेतीका निबन्ध’ जस्ता कृतिको समेत सम्पादन गरेका छन् । दुई दर्जन जति फुटकर अनुसन्धानात्मक समालोचना प्रकाशित गरेका पौडेलले त्रिभुवन विश्वविद्यालयमा तीस वर्षको प्राध्यापन अनुभव संगालेका छन् ।

त्रिविका साथै नेपाल सरकारका विभिन्न तहका पाठ्क्रमको निर्माण र पाठ्यपुस्तकको लेखनमा समेत उनले काम गरेका छन् । हाल उनी त्रिवि अनिवार्य नेपाली विषय समितिको अध्यक्ष छन् । पौडेल नेपाल सरकार संस्कृति मन्त्रालयबाट प्रदान गरिने महाकवि देवकोटा पुरस्कार, पारिजात सिर्जनशील पुरस्कार लगायतका एक दर्जन बढी पुरस्कार तथा सम्मानबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया