आत्मानन्द गोल्डकपः पाँचथर सेमीफाइनलमा

राम योङहाङ, इलाम । डिफेन्डिङ च्याम्पियन यसपत्री सर्वोत्तममुखी यासोक पाँचथर इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वार्टर फाइलनमा खोक्ताप स्पोर्टिङ क्लब धनकुटालाई ८–० को फराकिलो अन्तरले पराजित गर्दै यासोक पाँचथरले सेमीफाइनलको यात्रा तय गरेको हो । यासोक पाँचथर यसअघिका नवौं र दशौं संस्करणका विजेता टिम हो । जितका लागि पाँचथरका भुवन बस्नेत एक्लैले ४ गोल गरेका थिए भने सन्तोष न्यौपाने र मिलन राईले २÷२ गोलको योगदान गरेका थिए ।

पहिलो हाफमा ३ गोलको अग्रता लिएको पाँचथरले दोश्रो हाफमा समेत ३ गोल गरी ६ गोलको फराकिलो जित निश्चत गरेको थियो । खेलको सुरुवातमै आक्रामक खेलेको पाँचथरले १६ औं मिनेटमा नै गोलको खाता खोलेको थियो ।

भुवन बस्नेतले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए । त्यसको १ मिनेट पनि बित्न नपाउँदै पाँचथरले हग्रता दोब्बर बनायो । १७ औं मिनेटमा पाँचथरका मिलन राईले सहजै जाली चुमाए । ३५ औं मिनेटमा पुन पाँचथरका भुवन बस्नेतले गोल गरी टिमलाई ३–० को अग्रता दिलाए ।

पहिलो हाफमा नै फराकिलो अन्तरले अग्रता लिएको पाँचथरले दोस्रो हाफमा समेत उत्कृष्ठ खेल प्रदर्शन गर्यो । दोश्रो हाफको नवौं मिनेटमा पाँचथरका भुवन बस्नेतले गोल गरी टिमलाई ४–० अग्रता मात्र दिलाएनन्, आफ्नो ह्याट्रिक समेत पूरा गरे ।

१८ औं मिनेटमा पुन पाँचथरका भुवन बस्नेतले गोल गरी अग्रता बढाए । विपक्षीलाई सहजै दवावमा राख्न सफल पाँथरले विपक्षीको गोलपोस्टमा निरन्तर आक्रामण जारी राख्यो । धनकुटाको कमजोर रक्षपंतीको फाइदा उठाउँदै पाँचथरका सन्तोष न्यौपाने २५ र ३० औं मिनेटमा गोल गरे । खेलको अन्तिम समयमा पुन पाँचथरका ३४ मिलन राईले गोल गरी टिमलाई ८–० को सानदार जित दर्ता गराए ।

यता धनकुटाले भने रक्षात्मक समेत खेल्न सकेन । पहिलो हाफमा नै ३ गोलले पछि परेको धनकुटाले दोश्रो हाफमा समेत खेल सुधार गर्न नसकेपछि लज्जास्पल हार व्यहोर्दै घर फर्कन बाध्य बन्यो ।
खेलको म्यान अफ दी म्याच विजेता पाँचथरका भुवन बस्नेत घोषित भए । उनले नगद १ हजार ६५ रूपैयाँ प्राप्त गरे ।

माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत बुधबारदेखि सेमीफाइनल चरणका खेल सुरु हुनेछन् । पहिलो सेमीफाइनलमा बुधबार बुद्ध स्पोर्ट क्बल चन्द्रगडी झापा र एसएस क्लब काठमाडौंबीच प्रतिष्पर्धा हुने आयोजक समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद एक लाख ८ हजार ६५ रूपैयाँ तथा उपविजेताले नगद ७५ हजार ६५ रूपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृठ खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ठ गोलकिपरले नगद ८÷८ हजार रूपैयाँ प्राप्त गर्नेछन् । १७ मंसीरसम्म संचालन हुने प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औं संस्करण प्रतियोगिता आयोजना गरिएको हो । २०६५ सालदेखि आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा सुरु भएको बर्सेनि ‘आत्मानन्द गोल्डकप’ को आयोजना गरिँदै आएको छ ।

प्रतिक्रिया