प्रसूति गृह निर्माणसँगै स्वास्थ्यमा सुधार

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–७ मा प्रसूति गृह निर्माण भएपछि सो वडासँगै आसपासका गाँउहरू स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । पिपरा राजबारास्थित सामुदायिक विकास कार्यक्रम तथा नगरपालिकाको सहयोगमा निर्माण गरिएको सो प्रसूति गृह निर्माणसँगै स्वास्थ्य सेवा सृदृढ हुनुका साथै स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको छ ।

नेपाल ग्रामीण पुनः निर्माण संस्थाद्वारा सञ्चालित सामुदायिक विकास कार्यक्रमको लगभग २० लाख तथा नगरपालिकाको १ लाख ७७ हजार आर्थिक सहयोगमा निर्माण गरिएको सो प्रसूति गृहबाट वडासँगै आसपासका सयौँ सर्वसाधारण जनताहरू यसबाट स्वास्थ्य सेवा लिइरहेका संस्थाका संयोजक लीलबहादुर कार्कीको भनाइ छ ।

स्वास्थ्य संस्थामा अहिले दिनँहु ५० देखि सयौँ जना बिरामी दैनिक स्वास्थ्य उपचारका लागि आउने गरेको र यस स्वास्थ्य संस्थाबाट वृद्ध, बालबालिका, गर्भवती महिला स्वास्थ्य सेवा लिई लाभान्वित भइरहेका सि. अहेब नागेन्द्रप्रसाद पटेलको भनाइ छ ।

लामो समयदेखि सोही वडामा कार्यरत रहेका पटेल पहिला जिर्ण भएको पुरानो भवनबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका थिए । तर, हाल नयाँ प्रसूति गृहको निर्माण भएपछि व्यवस्थित रूपले सुविधा सम्पन्न उपकरण र कार्यालय पाएपछि आफूखुसी भएको र स्वास्थ्य सेवा प्रवाहमा थप मनोबल बढेको बताए ।

‘पहिला व्यवस्थित कोठा र भौतिक सामग्रीहरू नभएपछि स्वास्थ्य उपकरणका सामग्रीहरू वर्षामा भिज्ने, हराउनेजस्ता सास्ती खेप्दै थियौँ । तर, हालमा नवनिर्मित भवनले गर्दा सबै दुःख हराएर गएको छ । साविक गाविसको पुरानो भवनको एउटा कोठामा सञ्चालन हुँदै आएको स्वास्थ्य संस्था अहिले तीन कोठे भवन, दुई शौचालय, एक बरन्डामा परिणत भएको छ । हामी नेपाल ग्रामीण पुनर्निर्माण संस्था र नगरपालिकाप्रति आभारी छौँ ।’ कार्कीले भने ।

‘जनताको सेवामा अहोरात्र खटेका छौँ’ पटेलले थपे । प्रसूति गृहमा हाल डिलिभी मेसिन, रिसेप्सन टेबुल, बच्चा तौलने मेसिन, ड्रेसिङ टेबुल, पेरिलाइट, सक्सन मसिन, दराज, जेनरल बेड तीन थान सहितको उपकरण पाएको पटेलले जानकारी दिए ।

स्वास्थ्य संस्था सञ्चालनमा आएपछि हामीजस्ता कैयौँ गरिबहरूको स्वास्थ्य सेवा सहज र उपलव्धीमूलक भएको स्थानीय श्यामा बिहारी यादव बताउँछन् । पहिला स्वास्थ्यमा खराबी भए लगतै सदरमुकामसहित विभिन्न सहरहरूमा जानुपर्ने बाध्यता थियो । बिरामीको ज्यानको पनि खतरा थियो । त्यो सबै टलेको छ, यादवले बताए ।

यादवको अनुसार संस्थाबाट पाएको सेवाबाटै कैयौँ गर्भवती महिला दिदीहरूको सकुशल गर्भधारण गराउन पाउँदा हामी हर्षित छौँ । पहिला एम्बुलेन्स खाज्ने चटारो थियो । हाल सबै समस्या गाएब भएको छ । समय र पैसा दुबैको वचत हुँदा खुसी छौंँ

प्रतिक्रिया