खोजखबर

विमानस्थलको ‘पार्किङ भवन’ सञ्चालनमा

सौर्य अनलाइन २०७५ मंसिर १२ गते ७:३३ मा प्रकाशित

कठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारेको छ ।

अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ ।

निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो । टर्मिनल अघि अव्यवस्थित पार्किङले अस्तव्यस्त भएको र बढ्दो सवारी चापले यात्रुलाई असहज भएकाले पार्किङ तलको क्षेत्रमा सारिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए ।

‘टर्मिनल अघि सवारीको अस्तव्यस्ता देखिएको र यात्रुलाई असुविधाका साथै भीडभाडमा अवाञ्छित गतिविधि पनि हुनसक्ने भएकाले हामीले पार्किङ भवनमा सवारी पार्क गर्ने व्यवस्था गरेका हाैं’,उनले भने ।

नजिकिएको एसिया प्यासिफिक सम्मेलनलाई समेत मध्यनजर गर्दै सरोकार भएका निकायसँग छलफल गरेर पार्किङको नयाँ व्यवस्था गरिएको प्रवक्ता तिवारीको भनाइ छ । यो व्यवस्थापछि सवारी साधनले अब विमानस्थलको गोल्डेन गेटबाट प्रवेश गरेर बाहिरिदा पार्किङ भवनको नयाँ गेट प्रयोग गर्नुपर्नेछ ।

९ मंसिरदखि विमानस्थलको माथिल्लो भागको पार्किङ ‘पार्किङ भवन’ मा सारेको हो । माथिल्लो भागमा हरियो नम्बर प्लेट भएका १० वटा र कालो नम्बर प्लेट भएका १० वटा मात्रै ट्याक्सी हुन्छन् । बाँकी सम्पूर्ण ट्याक्सी भवनमा पार्किङ गरिनेछ । विशिष्ट र अतिविशिष्ट पाहुनाको पार्किङ भने पहिलाकै स्थानमा हुनेछ ।

एउटा ट्याक्सीले यात्रुलाई लिएर जान्छ । त्यसपछि मात्रै पार्किङ गरिएको ठाउँबाट अर्को ट्याक्सीमाथि उक्लिन्छ । निजी सवारी साधनले पनि भवनमा पार्किङ गरेर आफ्ना पाहुनालाई कुर्नुपर्नेछ ।

यात्रुको सहजताका लागि पार्किङको समस्या भएका अन्य स्थलको पनि आन्तरिक व्यवस्थापनका लागि परेको विमानस्थलले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ वटा वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय