नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

तौलिहवा । नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ ।

बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन सकिने उपायलगायत विषयमा छलफल भएको कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।

बैठकमा भारतको सिद्धार्थनगर जिल्लासँग जोडिएका नेपालका कपिलवस्तु र रूपन्देही जिल्लाको सीमा नाकामा हुने आपराधिक घटना नियन्त्रणका लागि दुबै पक्षबाट सहयोग, समन्वय र सूचना आदानप्रदान गर्ने विषयमा सहमति भएको उनले बताए ।

सीमावर्ती क्षेत्र र दशगजाका सवालमा उत्पन्न हुने विवादलाई आपसी समझदारीका आधारमा सुलझाउने प्रयास गर्ने र दुवै पक्षबाट आ–आफ्नो ढंगले केन्द्रलाई जानकारी गराउने पनि सहमति भएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

बैठकले भारतीय सिमावर्ती क्षेत्र चाकरचांैडा नाकामा भारतीय भन्सार कार्यालय राख्न सुझावसमेत दिएकोे छ । सो क्षेत्रमा भन्सार कार्यालय राख्न सके भारतको अलिगढवा घुम्न आउने पर्यटकलाई बौद्धस्थल लुम्बिनी र तिलौराकोट भ्रमणका लागि सहज हुनेछ ।

भारतीय पक्षले विशेष गरी सीमा क्षेत्रबाट आपराधिक गतिविधि नियन्त्रणमा नेपालतर्फ सशस्त्र प्रहरीले खेलेको प्रयासको प्रशंसा गरेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रूपन्देहीका निमित्त गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर पाण्डे, नं २८ गण कपिलवस्तुका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारी र भारतीय पक्षबाट सीमा सुरक्षा बल ४३ बटालियनका डेपुटी कमान्डेन्ट पंकजकुमार बर्मा, एसएसबी इन्टेलिजेन्स ब्युरोका प्रमुख एमएस रायको सहभागिता थियो । आगामी बैठक कपिलवस्तुमा हुने सहमति भएको छ ।

प्रतिक्रिया