चौंरीपालन सुरु

रुकुम । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–२ पेल्मास्थित झार्लुङमा व्यावसायिक चौंरीपालन सुरु गरिएको छ । प्रदेशमै पहिलोपटक सुरु गरिएको चौंरीपालनका लागि किसानलाई उत्साहित गराउन गाउँपालिका र पुथा हिमशृंखला चौँरीपालन कृषक समूहले संयुक्त लगानी गरेका छन् ।

झार्लुङमा तीन महीनायता चौँरी चरिरहेका छन । गाउँपालिकाको चार लाख २५ हजार र चौँरीपालन समूहको ५० हजार गरी जम्मा चार लाख ७५ हजार खर्च गरेर डोल्पाको काकोटबाट सात माउ चौँरी र एउटा याकको बच्चा झार्लुङमा ल्याइएको छ ।

चौँरीबाट धेरै काम लिन र सजिलै पाल्न सकिने भएकोले पाल्न थालेको समूहका अध्यक्ष नवराज कामीले बताए । ‘चौंरीबाट धेरै फाइदा लिन सकिने रहेछ, अहिले दूध, दही र घिउ बनाउन थालिएको छ’, अध्यक्ष कामीले भने, ‘भारी बोक्न तथा जोत्न पनि मिल्ने भएकोले चौँरी बहुउपयोगी छ ।’

पर्यटन प्रवद्र्धनका लागि पनि चौंरीपालन सुरु गरिएको समूहको दाबी छ । हिमाली जिल्लाको पहिचान भनेको चौँरी पनि हो । जति चिसो भयो उतिनै चौँरीले राम्रो मान्ने गरेको गाउँवासीको भनाइ छ । जाडो समयमा झार्लुङमा र गर्मी र वर्षाको समयमा चिसो स्थान घोलीमा लिएर चौँरी राखिने योजना समूहले बनाएको छ । समूहले एकजना मान्छे राखेर चौँरी हेरचाह गरिरहेको छ ।

प्रतिक्रिया