अनलाइन प्रणालीमा सुधारको माग

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले हालै सञ्चालनमा ल्याएको पूर्ण कारोबार प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै सेयर लगानीकर्ताले तत्काल सुधारको माग गरेका छन् ।

सेयर लगानीकर्ताले सोमबार नेप्सेको कार्यालय परिसरमा भेला भएर अनलाइन कारोबार प्रणालीमा तत्काल सुधारका साथै व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराउनुपर्ने माग गरेका थिए । सेयर लगानीकर्ताले हाल यस क्षेत्रका ब्रोकर (दलाल) मार्फत कारोबार गर्दै आएका छन् ।

स्टक एक्सचेन्जले गत कात्तिक २० गतेदेखि ‘नेप्से अनलाइन कारोबार प्रणाली’ सञ्चालनमा ल्याएको हो । आइतबार सेयर कारोबार भइरहेको समयमा प्रणालीमा प्राविधिक समस्या आएपछि एक्कासी अवरोध भएको भन्दै लगानीकर्ताहरूले आक्रोश पोखेका थिए । नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघको आह्वानमा लगानीकर्ताले पुँजी बजार सुधार तथा विस्तारका रणनीतिक काम गर्नसमेत माग गरेका छन् ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन कारोबार प्रणालीमा सुरुमा केही प्राविधिक समस्या आए पनि सुधार हँुदै गएको बताए । उनले लगानीकर्ता नयाँ प्रणालीमा अभ्यस्त भएपछि छिट्टै सम्पूर्ण लगानीकर्तालाई व्यक्तिगत प्रयोग खाता र पासवर्ड उपलब्ध गराइने जानकारी दिए ।

प्रतिक्रिया