प्रधान सेनापति कप: एपिएफ फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन नेपाल एपिएफ क्लब प्रधान सेनापति छैटौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ०७५ को फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलमा एपिएफले पुलिसलाई ३–० ले पराजित गरेको हो ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा भएको खेलमा एपिएफका लागि सावित्रा भण्डारीले २ तथा प्लेयर अफ द म्याच अनिता बस्नेतले एक गोल गरिन् । एपिएफले पहिलो हाफको ३५औँ मिनेटमा अग्रता लिएको थियो । सावित्रा भण्डारीले अनिता बस्नेतको पासलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् ।

दोस्रो हाफमा एपिएफले दुई गोल थप्यो । अनिता बस्नेतले ६९ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट गोल गरिन् । त्यसको एक मिनेटमै एपिएफले पेनाल्टी पायो । मोनिका पुलामी मगरले गोललाइन नजिक ह्यान्ड गरेपछि रेफ्री पदम भुजेलले सिधै रातो कार्ड देखाएका थिए ।

सावित्राले पेनाल्टीमा सहजै गोल गर्दै एपीएफको जित पक्का गरिन् । खेलपछि एपीएफका प्रशिक्षक जनक सिंहले जित दर्ता गरे पनि सोच अनुरूप प्रदर्शन नभएको बताए । ‘हामीले धेरै गोल गर्ने अवसर खेर फाल्यौँ । अग्रपंक्तिमा अझै समस्या देखिन्छ । फाइनलमा त्यसलाई सुधार्दै उपाधि रक्षा गर्ने लक्ष्य राखेका छौँ, ‘ उनले भने । एपिएफले फाइनलमा प्रदेश–२ र आर्मी बीचको विजेतासँग फाइनल खेल्नेछ । उपाधि भिडन्त बुधबार हुनेछ ।

प्रतिक्रिया