सिँचाइ योजना अलपत्र हुँदा खेतीयोग्य जमिन बाँझै

सल्यान । ठेकेदारको लापरबाहीका कारण जिल्लामा रहेका दर्जन बढी सिँचाइ योजना अलपत्र परेका छन् । खेतीयोग्य जमिन हुँदासमेत सिँचाइ योजना अलपत्र परेपछि किसानहरू मारमा परेका छन् । सिँचाइ योजना अलपत्र परेपछि जिल्लाका ग्रामीण क्षेत्रका खेतीयोग्य जमिन बाँझो हुन थालेका छन् ।

सल्यानको भुमकेज्युला, कारागिठी, देवस्थल, घाँटगाउँ, बरेली, बाँझकाँडा सिँचाइ योजना काम सुुरु भएको वर्षौंसम्म पनि अलपत्र अवस्थामा रहेका छन् । त्यस्तै शारदा नगरपालिकाको शीतलपाटी, कुमाख गाउँपालिकाको कालागाउँ, कालीमाटी गाउँपालिकाको हात्तीदमार र घुइँयाबारी सिँचाइ योजना अलपत्र परेपछि किसानलाई खेती गर्न समस्या भएको छ ।

पञ्चवर्षीय योजनाको रूपमा निर्माण सुरु गरिएको सिँचाइ योजना अलपत्र परेका कारण किसान समस्यामा परेका हुन् । समयमै सिँचाइ योजना सम्पन्न नहुँदा यहाँका करिब आठ सय हेक्टर खेतीयोग्य जमिन पाखो बारीमा परिणत भएको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सल्यानले जनाएको छ । सिँचाइ योजना अलपत्र पर्दा जिल्लाका करिब पाँच हजार घरधुरी प्रत्यक्ष मारमा परेका छन् ।

०४५ सालमा सुरु भएको देवस्थल–घाटगाउँ–सिँचाइ योजना ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ । ठेकेदारले एक हजार मिटर नाला काटेर छोडेका थिए । चार किलोमिटर लामो भुमकेज्युला सिँचाइ योजनासमेत एक हजार मिटर नाला काटेर अलपत्र परको छ

घाटा लागेको भन्दै ठेकेदारले सिँचाइ योजना अलपत्र पारेको बन्गाड कुपिण्डे नगरपालिका–१ देवस्थलका किसान दानबहादुर बुढाले बताए । पञ्चवर्षीय योजनाको दोस्रो चरणका अधिकांश योजना अलपत्र परे पनि सरकारी निकायले ठेकेदारलाई कारबाही नगरेको बुढाको भनाइ रहेको छ  । कतिपय सिचाइँ योजनाहरू ०४५ सालदेखि अलपत्र पर्दै आइरहेका छन् ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका निमित्त प्रमुख अमरसिं रावतले धेरै पुराना योजनाका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले मर्मतका लागि थप बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको जनाएका छन्  ।

‘सिँचाइ सुविधा नभएका गाउँमा सिँचाइ योजना निर्माणका लागि प्राथमिकीकरणको काम गरेका छौँ’, उनले भने, त्यसबारेको प्राविधिक रिपोर्टसमेत माथिल्ला निकायमा पठाइएको छ, पास भएर आएपछि योजना निर्माणको कामले तीव्रता पाउँछ ।’ उनका अनुसार अहिले यस कार्यालयमा बजेट नभएको र प्रदेश सरकारबाट बजेट स्वीकृत भएर आएमा भने सिँचाइ योजनाको काम पुनः सुरु हुनेछ ।

सिँचाइ योग्य जमिनमा पानीको अभावपछि यहाँका किसानले धानबाली उत्पादन हुने खेतमा अन्य बाली लगाउन बाध्य छन् । बर्सातको समयमा कुनैकुनै स्थानमा मकै बाली लगाइएको भए पनि हिउँदे सिजनमा भने जमिन बाँझै रहने गरेको किसान बताउँछबन् ।

प्रतिक्रिया