खोजखबर

आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने

सौर्य अनलाइन २०७५ मंसिर १० गते ११:५८ मा प्रकाशित

बलेवा । बागलुङको ढोरपाटन नगरपालिका ९ मा आइतबार बिहान भएको आगालागीका कारण जलेका घरको पुनःनिर्माणका लागि ढोरपाटन नगरपालिकाले सहयोग गर्ने भएको छ । आगलागीका कारण जलेका ३० घरका ४८ परिवारको लागि नगरपालिकाले नयाँ घर बनाउन रु ४८ लाख सहयोग गर्ने भएको हो । आगलागी भएको खबर पाएसँगै तत्काल पोखराबाट हेली मगाई बुर्तिवाङ हुँदै ढोरपाटन पुग्नुभएका नगर प्रमुख देवकुमार नेपालीसहितको टोलीले घटनास्थलको प्रत्यक्ष अवलोकन गरी पीडितलाई घर बनाइदिने प्रतिबद्धता जनाएका छन् ।

घटनास्थलको अनुगमन निरीक्षण तथा पीडितको गुनासो सुनेपछि नगरप्रमुख नेपालीले नगरको विपत व्यवस्थापन कोषबाट त्यहाँका आगलागी पीडितको घर निर्माण गर्न भन्दै प्रतिपरिवार रु एक लाखका दरले ४८ लाख नगरपालिकाबाट उपलब्ध गराउने बताएका हुन् ।

उनले घरको छाना छाउने जस्तापाताका लागि आफ्नो व्यक्तिगत सहयोग हुने प्रतिबद्धता जनाए । नगर प्रमुखको प्रतिबद्धतापछि त्यहाँका आगलागी पीडित खुशी भएका छन् । नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट इञ्जिनीयर पठाएर सबैको एकैखालको भूकम्प प्रतिरोधी एक-एक तले, दुई कोठे शौचालयसहितको एकै प्रकारको घर निर्माण गरिने बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय