अयोध्यामा फेरि तनाव

नयाँ दिल्ली । आइतबार अयोध्यामा जम्मा भइरहेका दशौं हजार हिन्दूहरूले १६औं शताब्दीको बाबरी मस्जिद रहेको स्थानमा मन्दिर निर्माणको माग गरिरहेका छन् ।

सन् १९९२ मा दक्षिणपन्थी हिन्दूहरूको भीडले उक्त मस्जिद भत्काएको थियो र पछिल्ला केही महिनायता त्यहाँ मन्दिर बनाउने चर्चा चल्दै आएको छ । त्यस्तो माग राख्नेमा धेरैजसो सांसद, मन्त्री र सत्तारूढ भारतीय जनता पार्टी (बिजेपी)का नेताहरू छन् ।

भारतको सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेश राज्यले केन्द्रीय संसदमा सबैभन्दा बढी सांसदहरू पठाउँछ । देशको आगामी सरकार बनाउन चाहने जुनसुकै पार्टीले उक्त प्रदेशमा ठूलै जित हासिल गर्नुपर्ने हुन्छ ।

संवाददाताहरूका अनुसार बिजेपीले पुनः एकपटक उक्त मन्दिर रहेको उत्तर प्रदेश राज्यका हिन्दूहरूलाई धार्मिक रागका आडमा उचाल्न खोजिरहेको छ । पार्टीको त्यस्तै रणनीतिले सन् २०१४ मा काम गरेको थियो जतिखेर कुल ८० मध्ये बिजेपीले ७१ सिट जितेको थियो ।

त्यस्तो लहरले गत वर्षको राज्यस्तरको चुनावमा समेत शानदार विजयसाथ हिन्दू कट्टरपन्थी योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाए तापनि बिजेपीले थुप्रै स्थानीय चुनावमा भने हार बेहोर्यो ।

त्यस्तो हारको एउटा कारण खडेरी र कृषि उत्पादन बढ्दा सरकारले राहत दिन नसक्नुमा थियो । अयोध्याबाट बिजेपीले गुमाएको उक्त पकड फिर्ता ल्याउन खोज्नेछ ।

बाबरी मस्जिदका लागि हिन्दू र मुस्लिमहरू एक शताब्दी अघिदेखि भिड्दै आएका छन् । विश्व हिन्दू परिषद् र अन्य हिन्ू समूहहरूले १६ औं शताब्दीमा बाबरी मस्जिद रहेकै ठाउँमा हिन्दू मन्दिर बनाउन चाहेका छन् ।

हिन्दुहरूले उत्तर प्रदेशस्थित धार्मिक क्षेत्रमा उनीहरूले धेरै मान्ने भगवान रामको जन्म भएको विश्वास गर्छन् । तर, मुसलमानहरूले आफूहरूले त्यहाँ पुस्तौंसम्म प्रार्थना गरेको बताउँछन् ।

सन् १९९२ मा हिन्दू मानिसहरूको भिडले त्यहाँ रहेको मस्जिदलाई भत्काइदिएपछि दुई समुदायबीचको तनाव चुलिएको थियो । विवादहरू बढेपछिका पछिल्ला दशकमा हिन्दू र मुस्लिम पक्षधरहरू थुप्रैपटक अदालतसम्म पुगेका छन् ।

भारतको सर्वोच्च अदालतले त्यस्तै एउटा मुद्दामा जनवरी २०१९ मा सुनुवाईका लागि मिति तय गरेको छ । तर, अलाहवाद उच्च अदालतले भने सन् २०१० मै एउटा फैसला सुनाउँदै मस्जिद रहेको उक्त मुख्य क्षेत्रलाई तीन भागमा विभाजित गरेर दुईतिहाइ क्षेत्र हिन्दूलाई र एकतिहाई मुस्लिमलाई दिने फैसला सुनाएको थियो ।

उक्त फैसलाले पहिलोपटक त्यस ठाउँ भगवान रामको जन्मस्थल हो भन्ने कुरालाई समेत उल्लेख गरेको थियो ।

प्रतिक्रिया