उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल ३ लाख ४५ हजार ३ सय ९३ उद्योगमा भएको २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । विभागका अनुसार नेपालका १ हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, १ हजार ६ सय ४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७ सय २३ लघु त्यस्तै घरेलु तथा साना उद्योगमा चार खर्ब ३२ अर्ब लगानी रहेको छ ।

यसमा स्वदेशी लगानीका मझौला तथा साना उद्योग र विदेशी लगानीका सबै उद्योग समावेश छन् । दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी उत्पादनमूलक र सेवामूलक उद्योग रहेका छन् । त्यसपछि कृषि तथा वन पैदावरका उद्योग पर्दछन् । संख्यात्मक रूपमा कम भए पनि ऊर्जामा लगानी बढेको सिंहले जानकारी दिए । दर्ता भएका उद्योगमा लगानीको अवस्था हेर्दा ऊर्जामूलक उद्योगमा ५५ दशमलव ३१ प्रतिशत, उत्पादनमूलक उद्योगमा २३ दशमलव ६० प्रतिशत, सेवामूलक उद्योगमा आठ दशमलव ६२ प्रतिशत लगानी छ । पर्यटन उद्योगमा भने न्यून लगानी (६ दशमलव ६८ प्रतिशत) रहेको उद्योग विभागको तथ्यांकमा उल्लिखित छ । अन्य उद्योगमा लगानी न्यून छ । नेपालका यी उद्योगले ३१ लाख ८१ हजार ८१ हजार ४ सय ९६ जनालाई रोजगारी दिएको महानिर्देशक सिंहको भनाई छ ।

विदेशी लगानी २ खर्ब ६८ अर्ब
विभागले दिएको जानकारीअनुसार ४ हजार ५ सय उद्योगमा कुल २ खर्ब ६८ अर्ब विदेशी लगानी रहेको छ । विदेशी लगानीमध्ये २ सय ८९ ठूला उद्योगमा १ खर्ब ९० अर्ब, ४ सय मझौला उद्योगमा २६ अर्ब र ३ हजार ७ सय ९० उद्योगमा ५१ अर्ब लगानी रहेको महानिर्देशक सिंहले जानकारी दिए ।

असार मसान्तसम्ममा विदेशी लगानी स्वीकृतिका हिसाबले सबैभन्दा बढी सेवामूलक उद्योगमा छ । जसअन्तर्गत १ हजार ५ सय २ वटा उद्योग दर्ता छन् । दोस्रोमा पर्यटनतर्फ १ हजार ३ सय ७१ होटल रेस्टुरेन्टमा लगानी छ । उत्पादनमूलक उद्योग भने १ हजार १ सय ६ रहेको विभागले जनाएको छ । यसबाहेक ऊर्जा, निर्माण, खनिज तथा सूचना तथा सञ्चार क्षेत्रका उद्योगमा विदेशी लगानी रहेको विभागले जनाएको छ ।

लगानी प्रतिशत हेर्दा विदेशी लगानी पनि सबैभन्दा बढी ऊर्जा क्षेत्रमा ४६ दशमलव ८ प्रतिशत छ । यस्तै, उत्पादनमूलक उद्योगमा १७ दशमलव ९९ र सेवामूलक उद्योगमा १७ दशमलव ८२ प्रतिशत रहेको छ । पर्यटनमा ११ दशमलव ४ प्रतिशत छ भने अन्य क्षेत्रमा ५ प्रतिशतभन्दा कम छ । उद्योग क्षेत्रको विकासमा सम्भावना बढ्दै गएको भन्दै विभागले राजनीतिक स्थिरता, नीति निर्माणमा सुनिश्चितता र निरन्तरता, जलविद्युत् उत्पादन र ऊर्जाको पर्याप्तताले पनि वातावरण राम्रो रहेको जनाएको छ ।

रुग्ण उद्योग सञ्चालन, रोजगारदाता र मजदुरबीचको विवाद, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, कम गुणस्तरका उत्पादनले पनि अप्ठ्यारो अवस्था भने कायमै छ । सरकारले यसरी उद्योगको वातावरण राम्रो बन्दै गएको दाबी गरे पनि लगानी गर्ने वातावरण ‘डुइङ बिजिनेस’ मा नेपाल पाँच अंकले तल झरेको विषयलाई आधार मान्दै व्यवसायीले भने अझै लगानी गर्ने वातावरण नभएको दाबी गर्दै आएका छन् ।

उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव यमकुमारी खतिवडाले सरकार परिणाममुखी काममा लागेको भन्दै पछिल्लो समयमा उद्योगमैत्री नीति ल्याउन प्रक्रिया अघि बढेको बताइन ।

त्यस्तै, उद्योग वाणिज्य महासंघका महानिर्देशक गोपालप्रसाद तिवारीका अनुसार सरकारकै तथ्यांक हेर्दा पनि नेपालमा साना तथा मझौला उद्योगको हिस्सा ७६ प्रतिशत र रोजगारी भने ७४ प्रतिशत रहेको तर लगानीका हिसाबले हेर्दा साना उद्योगमा पाँच प्रतिशत मात्रै रहेकाले पनि ठूला उद्योग सञ्चालन नगरेसम्म रोजगारी वृद्धि गर्न सकिँदैन । आइतबार उद्योग दिवसको अवसरमा नेपालमा चलेका उद्योगमध्ये ५० प्रतिशत उद्योग पूर्ण क्षमतामा चल्न नसकेको भन्दै उनले यसतर्फ सरकारको ध्यानाकर्षणसमेत गराए । ०७१ सालदेखि आजको दिनलाई उद्योग दिवसको रूपमा सरकारले मनाउँदै आएको छ ।

कुल गार्हस्थ उत्पादनमा विगतमा उद्योगले १० प्रतिशतमाथि योगदान दिएकोमा अहिले पाँच प्रतिशतमा झर्नुले पनि सकारात्मक संकेत नभएको दाबी तिवारीको छ । राजस्वको योगदान भने सन् २००१ मा कुल गार्हस्थ उत्पादनमा ११ प्रतिशत रहेकोमा सन् २०१७ मा पुग्दा २४ प्रतिशत पुगेको भए पनि रोजगार विकास गर्ने क्षेत्रको योगदान घट्दै जानुले पनि सकारात्मक नदेखिएको उनले उल्लिखित गरे ।

प्रतिक्रिया